७ श्रावण २०८३, बिहिबार

अस्थिरताको षड्यन्त्र असफल पार्न समयमै निर्वाचनः उपप्रधानमन्त्री पोखरेल



काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले अस्थिरता, अन्यौल र अविकासको बाटोतिर मुलुकलाई लैजाने षड्यन्त्र रोकेर मुलुकलाई स्थायित्व दिनका लागि निर्वाचन गर्न लागिएको बताउनुभएको छ । तोकिएको समयमा नै प्रतिनिधिसभा निर्वाचन आफुहरु गराउन सफल हुने दाबी गर्नुहुँदै उहाँले नेपाली जनताको सर्वोपरी हितको निम्ति अहिले केपी शर्मा ओली नेतृत्वको सरकार नै जनप्रिय भएकोसमेत बताउनुभएको छ । नुवाकोटको सदरमुकाम विदुरमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को जिल्लास्तरिय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री ईश्वर पोखरेलले विरोधी शक्तिहरु आफ्नो अलोकप्रियताकै कारण जनतासामु जान डराएका कारण संसद विघटनको विषयलाई मुद्दा बनाएर आन्दोलन गरिरहेकोमा त्यो निरर्थक सावित हुने ठोकुवा गर्नुभयो ।


‘हामी लोकतन्त्रमा विश्वास गर्छौँ, त्यसैले निर्वाचनमा जाने र जनताको म्याण्डेड तथा जनादेश लिने निर्वाचन सफल पार्दै हामी अहिले निम्त्याउन खोजिएको अस्थिरतालाई मेटाउनेछौँ’, पोखरेलले भन्नुभयो–‘ओली नेतृत्वको सरकारले राष्ट्रियताको सवालमा होस् वा विकास निर्माणमा गरेका एकपछि अर्को लोकप्रिय कामबाट आत्तिएकाहरुले सरकार ढाल्न अनेकौँ षड्यन्त्रपछि संसद विघटन गर्ने बाध्यात्मक अवस्थामा ल्याए ।’ उहाँले प्रतनिधिसभा विघटन संवैधानिक र लोकतान्त्रिक कदम भएको पनि स्पष्ट पार्दै संविधानले दिएको अधिकार प्रधानमन्त्री र राष्ट्रपतिले प्रयोग गर्नुभएकोले यसलाई मुद्दा बनाएर आन्दोलन गर्नु ब्यर्थ भएको पनि बताउनुभयो ।
तोकिएको समयमा निर्वाचन नहोस् भन्ने पक्षले चलाएको हल्लाको पछि लाग्न नहुने तर्क गर्नुहुँदै उहाँले तोकिएको समयमा निर्वाचन होला कि नहोला भनेर आशङ्का गर्नुपर्ने अवस्था नभएको स्पष्ट पार्नुभयो । ‘निर्वाचन नचाहने पक्षले निर्वाचन आयोगलाई धम्की दिइरहेका छन् । दल दर्ता, निर्वाचन कार्यक्रम सञ्चालन नगर भनिरहेका छन् । गलत दवाव र धम्कीले निर्वाचन रोकिँदैँन’, उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो ।


नेकपा सचिवालय सदस्यसमेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले निर्वाचन आयोग अदालतले गरेको निर्णय आफुहरुका लागि सर्वस्विकार्य हुने स्पष्ट पार्नुभयो । प्रतिनिधिसभा विघटनको संविधानसम्वत निर्णय सरकारले गरेकोले अब फेरी संसद पुनःस्थापना हुन नसक्ने यदी त्यो भएमा देश र जनताको हितमा नहुने बताउनुभयो । ‘ताजा जनादेशमा जानु नै अहिलेको उत्तम विकल्प र निकास हो’, उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो–‘अहिले अदालतमा त्यो विचाराधिन रहेकोले संसद विघटनको निर्णय नै सदर हुनेमा हामी सम्मानित अदालतप्रति विश्वस्त छौँ ।’
उपप्रधानमन्त्री पोखरेलसँगै नुवाकोटमा सहभागी रहनुभएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पार्टी नेतृत्वलाई प्रतिक्रान्तिबाट बचाउनका लागि नै नयाँ जनादेश प्राप्त गर्न निर्वाचनमा जानुपरेको बताउनुभयो । ‘देशलाई अस्थिरताको भुमरीमा फसाउन प्रचण्ड र माधव नेपालहरु लागिपरेका छन्’, उहाँले भन्नुभयो–‘अब हुने निर्वाचन जसरी पनि भइछाड्े र उनीहरुको षड्यन्त्रलाई जनताको जनमतद्धारा नै परास्त हुनेछ ।’


यसैबीच प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले मुलुकलाई नयाँ दिशा र सकरात्मक बाटोमा लैजान नेपालको इतिहासमै केप ीओली शर्मा नेतृत्वको सरकारले अभुतपुर्व काम गरेकोकै कारण केही तत्वहरुले अस्थिरता निम्त्याउन मरिहत्ते गरिरहेको बताउनुभयो । तरपनि, जनताको अपार विश्वास र भरोसाले नै आफुहरु विचलित नहुने उहाँले स्पष्ट पार्नुभयो । ‘अब हुने निर्वाचन समयमै सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको र निर्वाचनपश्चात् देशविरोधी तथा जनविरोधीहरु पराजित हुनेछन्’, सल्लाहकार रिमालले विश्वास व्यक्त गर्दै भन्नुभयो–‘त्यसपछि हामीले कल्पना गरेको सुखी नेपाली र समृद्ध नेपालको परिकल्पना साकार मात्र हुनेछैन, देश नयाँ युगमा प्रवेश गर्नेछ ।’

नुवाकोटमा उपप्रधानमन्त्री पोखरेललाई अवरोधको प्रयास
नुवाकोट पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रचण्ड–नेपाल समूहका नेता, कार्यकर्ताले अवरोधको प्रयास गरेका छन् । पोखरेल चढेको गाडीलाई लक्षित गरेर कार्यकर्ताहरुले ढुंगा हानेका थिए । तर, पोखरेलको गाडी छेउमा रहेको एक संस्थानको गाडीको सिसा फुटेको छ ।


यसअघि प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले कालो झण्डा देखाउँदै मन्त्री पोखरेलको विरोध गरेका थिए । घटनापछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन बल प्रयोग गरेको थियो । प्रहरीको लाठीचार्जबाट करिब एक दर्जन प्रदर्शनकारी घाइते भएका छन् । हाल स्थिति नियन्त्रणमा आइसकेको र मन्त्री पोखरेल कार्यक्रममा सहभागी भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्