किन उत्रिए राष्ट्र बैंकका कर्मचारी गभर्नर अधिकारी विरुद्ध ?(विज्ञप्तिसहित)
काठमाडौं । बढुवाको विषयलाई लिएर नेपाल राष्ट्र बैंकका कर्मचारी गभर्नर महाप्रसाद अधिकारीप्रति रुष्ट बनेका छन् ।
कर्मचारी बढुवामा मनोमानी गरेको भन्दै राष्ट्र बैंक कर्मचारी संघले गभर्नरलाई विरोधपत्र बुझाएका छन् । संघले गभर्नरलाई बुझाएको विरोध पत्रमा बैंक व्यवस्थापनमा अन्याय, अत्याचार र विभेदका विरुद्धमा तथा न्याय र समानताका पक्षमा संघ सधै लडेको र अधिकृत द्वितीय पदको पदोन्नतिको नतिजाले त्यसलाई झनै बढावा दिएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘संस्थाले सुम्पिएको जिम्मेवारी र अधिकारलाई आफ्नो पैत्रिक सम्पत्ति ठान्दै मातहतका कर्मचारीलाई आस्थाको आधारमा विभेद गरी वृत्ति विकासबाट वञ्चित गर्ने दुर्भावनाबाट ग्रसित व्यवस्थापनका केही अराजक पात्रहरुका काला कर्तुत खेदजनक छ ।’
समानता र न्यायको अन्तिम भरोसा र विश्वासको केन्द्रबाट समेत तदनुरुपको भूमिकाको अनुभूति पाउन नसकेको अवस्थामा कर्मचारी कसरी उत्प्रेरित हुन सक्लान ? भन्ने प्रश्न गर्दै संस्थाबाट समानता र न्यायको प्रत्याभूति हुन नसक्ने उनीहरुको बुझाई छ । बैंक व्यवस्थापनको कामले स्वतन्त्र न्याय सम्पादन माथि नै प्रश्न उब्जाएको भन्दै ‘बुढी मरी भन्ने चिन्ता मात्र होइन, काल पल्किने डर’ आमकर्मचारीमा देखिएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।













