परीक्षणको तयारीमा बर्दघाट सब–स्टेसन
काठमाडौं । पश्चिम नवलपरासीको सुनवल बडेरामा निर्माणाधीन न्यु बुटवल–बर्दघाट २२० केभी प्रसारण लाइन सबस्टेसनको निर्माण कार्य परीक्षणको चरणमा पुगेको छ । कोभिड–१९ का कारण लामो समय निर्माणको काम रोकिएको भए पनि पछिल्लो समय तीव्रता पाएपछि अहिले परीक्षणको चरणमा पुगेको हो ।
न्यु बुटवल–बर्दघाट प्रसारण लाइनको सबस्टेसन परियोजनाका सूचना अधिकृत अशोक पोखरेलले विद्युत् सबस्टेसनको निर्माण कार्य अन्तिम चरणमा पुगेको बताए ।सुनवल नगरपालिका–१३ स्थित सूर्यबस्तीमा करिब २० बिघा क्षेत्रफलमा न्यु बुटवल–बर्दघाट प्रसारण लाइन आयोजनाको सबस्टेसन निर्माणको काम भइरहेको छ ।
आयोजनाका इन्जिनियर आनन्द सुवेदीले अब सबस्टेसन परीक्षणको चरणमा पुगेको बताउनुभयो । अहिलेसम्म सबस्टेसनमा एक दर्जनभन्दा बढी सङ्ख्यामा रहेका विद्युत् टावर, कन्ट्रोल रुम, यन्त्रको जडान, क्वार्टर, स्टोर, सुरक्षा पोस्ट एवं आवास, ट्रान्सफार्मर स्टेसनलगायतका अधिकांश संरचना बनाउने काम सकिएको छ । सबस्टेसन निर्माणको काम भारतीय ठेकेदार कम्पनी टाटा प्रोजेक्ट्स लिमिटेडले लिएको छ । एक अर्ब ८० लाख रुपियाँको लागतमा बन्न लागेको विद्युत् सबस्टेसनले कालीगण्डकी क्षेत्रबाट उत्पादित विद्युत् मध्यतराईका सहरमा प्रसारण गर्नेछ ।गोरखापत्रबाट













