नेप्से सूचकांकसँगै अब कारोबारयोग्य शेयरको आधारमा छुट्टै बेन्चमार्क आउने
काठमाडाैँ । नेपालको शेयर बजारलाई थप आधुनिक, पारदर्शी र यथार्थपरक बनाउने उद्देश्यसहित नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ बेन्चमार्क सूचकांक प्रणाली लागू गर्ने तयारी तीव्र पारेको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हालसम्म प्रचलनमा रहेको नेप्से सूचकांकलाई निरन्तरता दिँदै वास्तविक रूपमा कारोबार हुन सक्ने शेयरको बजार पूँजीकरणमा आधारित नयाँ बेन्चमार्क प्रणाली अघि बढाएपछि नेप्से यसको कार्यान्वयनमा जुटेको हो।
नियामक निकायबाट अन्तिम निर्देश प्राप्त भएलगत्तै आगामी मंसिर महिनाभित्रै नयाँ प्रणालीलाई धितोपत्र बजारमा भित्र्याउने गरी आन्तरिक गृहकार्य भइरहेको सम्बन्धित अधिकारीहरूले बताएका छन्।
पछिल्लो समय बजारमा कारोबार नहुने तथा निश्चित अवधिसम्म किनबेच गर्न नपाइने संस्थापक शेयरको बजार पूँजीकरणलाई समेत जोडेर नेप्से सूचकांक गणना गरिँदै आएको छ। यसरी कुल शेयरलाई आधार मान्दा बजारको वास्तविक चित्र र उतारचढाव प्रष्ट नभएको गुनासो लगानीकर्ताबाट उठ्दै आएको थियो।
यही समस्यालाई चिर्दै बोर्डले हालै ‘धितोपत्र बजारमा बेन्चमार्क सूचकांकको पुनर्संरचनासम्बन्धी कार्यपत्र, २०८३’ सार्वजनिक गरी सरोकारवालाहरूको रायसुझाव मागेको थियो। सोही कार्यपत्रको मर्मअनुसार अन्तरराष्ट्रिय अभ्यासलाई आत्मसात गर्दै बजारको मूल्यगत प्रदर्शनलाई बढी विश्वसनीय बनाउन नयाँ प्रणालीको परिकल्पना गरिएको हो।
प्रस्तावित व्यवस्थाअनुसार अब धितोपत्र बजारमा फरक–फरक उद्देश्य पूरा गर्ने दुईवटा सूचकांक सञ्चालनमा आउनेछन्। पहिलो रूपमा हालको परम्परागत नेप्से सूचकांकलाई नै निरन्तरता दिइनेछ, जसले सूचीकृत कम्पनीहरूको समग्र मूल्यगत प्रदर्शन र दीर्घकालीन आर्थिक प्रवृत्ति अध्ययन गर्न सघाउनेछ।
दोस्रो भनेको पूर्ण रूपमा लगानीयोग्य बेन्चमार्क सूचकांक हुनेछ, जसको गणना गर्दा संस्थापक, सरकार वा निश्चित अवधिसम्म बजारमा बिक्री गर्न नपाइने शेयरहरूलाई हटाइनेछ। केवल आम लगानीकर्ताले बजारमा खुला रूपमा खरिदबिक्री गर्न सक्ने शेयरलाई मात्र आधार मानेर यो सूचकांक तयार पारिनेछ।
यस किसिमको व्यवस्थाले विशेषगरी म्युचुअल फन्ड, संस्थागत लगानीकर्ता र पोर्टफोलियो व्यवस्थापकहरूलाई आफ्नो लगानीको जोखिम तथा प्रतिफलको सही आकलन गर्न ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ।
नयाँ सूचकांक प्रणाली पूर्ण रूपमा लागू गर्नुअघि बजारमा कुनै किसिमको अन्योल सिर्जना नहोस् भनी विभिन्न चरणहरू पार गर्ने तयारी गरिएको छ। बोर्डको कार्यपत्रमा प्रणालीलाई पूर्णता दिनुअघि कम्तीमा छ महिनासम्म पुराना र नयाँ सूचकांकलाई समानान्तर रूपमा गणना गरी तिनको तुलना गर्ने प्रस्ताव गरिएको छ।
साथै, विगत पाँचदेखि दश वर्षसम्मको ऐतिहासिक तथ्यांक प्रयोग गरेर नयाँ सूचकांकको प्रभावकारिता परीक्षण गर्ने योजनासमेत छ। यद्यपि, नेप्सेले मंसिर महिनाभित्रै नयाँ प्रणाली सुरु गर्ने आन्तरिक तयारी गरिरहँदा बोर्डको कार्ययोजनामा सुझाइएको छ महिने समानान्तर परीक्षणको पाटोले गर्दा मंसिरबाटै यो पूर्ण कार्यान्वयनमा जाने वा परीक्षण काल सुरु हुने भन्ने विषयमा भने केही स्पष्टता आउन बाँकी नै छ।















