सानिमा क्यापिटलको ठगी! ‘मेरोसेयर’ पोर्टलको पासवर्ड रिसेटबापत् गैरकानूनीरुपमा शुल्क उठाउँदै
काठमाडौं । सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटलले ‘मेरोसेयर’ पोर्टलको पासवर्ड रिसेटबापत् गैरकानूनीरुपमा शुल्क उठाउँदै आएको छ । सीडीएससीको मेरो सेयर पोर्टलमा पासवर्ड बिर्सेमा पासवर्ड रिसेटका लागि सानिमा क्यापिटलले प्रयोगकताहरूबाट गैरकानूनीरुपमा शुल्क उठाउँदै आएको हो । क्यापिटलले मेरोसेयरको पासवर्ड रिसेट गरेबापत् प्रयोगकर्ताबाट १५ रुपैयाँ शुल्क लिँदै आएको छ । लगानीकर्ता पदम टन्डनले मेरोसेयर पासवर्ड रिसेट गर्दा सानिमा बैंकमार्फत १५ रुपैयाँको भौचर भरिसकेपछि मात्रै क्यापिटलले पासवर्ड रिसेट गरिदिएको गुनासो पोखे । भौचरको एक कपी भने आफूले पनि नपाएको र सूचनाको हक हनन भएको दाबी उनले गरे ।
सानिमा क्यापिटलले टन्डनजस्ता हजारौँ लगानीकर्ताबाट गैरकानूनी रुपमा शुल्क उठाइरहेको छ । सानिमा क्यापिटलका हेड इन्भेस्टमेन्ट बैंकिङ मन्दीप लुइँटेलले प्रशासनिक शुल्कबापत् भन्दै हामीले पासवर्ड रिसेटको शुल्क जरिवानाका रुपमा लिएका दाबी गरेका छौँ ।’ नेपाल धितोपत्र बोर्डका सहप्रवक्ता रुपेश केसीले पासवर्ड रिसेटको शुल्कका विषयमा सीडीएससीले नै निर्णय गर्नुपर्ने बताउँछन् । आमलगानीकर्ताको हकहितका लागि स्थापित धितोपत्र बोर्डको समेत मेरोसेयर प्रयोगकर्ताबाट गैरकानुनीरुपमा शुल्क उठाइरहेकोमा समर्थन गरेको जस्तो देखिएको छ ।
विनियमावलीमा समेत मेरोसेयरको पासवर्ड रिसेटका नाममा शुल्क उठाउन नपाइने सीडीएससीकै एक उच्च अधिकारी बताउँछन् । ‘एकाध क्यापिटलले मेरोसेयरको पासवर्ड रिसेट गर्दा शुल्क लिइरहेको पाइएको छ, तर विनियमावलीमा समेत शुल्क लिन पाइने व्यवस्था कहीँकतै उल्लेख नभएकाले यो सरासर गैरकानूनी हो’ । ती अधिकारीले भने, ‘यस विषयमा हामीले धितोपत्र बोर्डसँग पनि कुरा राख्दा त्यति चासो दिइएन ।’
मेरोसेयरको पासवर्ड रिसेट निःशुल्क भए पनि एकाध क्यापिटलबाट गैरकानूनी धन्दा भइरहेकोप्रति बोर्डले मौनता साँध्दै लगानीकर्ताको हितमा काम गर्न नसकेको ती अधिकारीले बताए । ‘अब सीडीएससीले छिटै मेरोसेयरको पासवर्ड रिसेट प्रयोगकर्ता आफैँले गर्न सक्ने व्यवस्था सुरु भएपछि यो समस्या निराकरण हुन्छ’, उनले भने । अन्य क्यापिटल र ब्रोकरहरूले मेरोसेयर को पासवर्ड रिसेट गर्न कुनै शुल्क लिएका छैनन् । सानिमा क्यापिटलले भने नियामकलाई समेत चुनौती दिँदै गैरकानूनीढंगले हजारौँ मेरोसेयर प्रयोगकर्ताबाट शुल्क उठाइरहेको घटनालाई धितोपत्र बोर्डले रोक लगाउनुपर्ने लगानीकर्ताको माग छ ।सेयर बजार













