२८ श्रावण २०८३, बिहिबार

एनआईसी एशिया र स्वदेशी लघुवित्तको एकिकृत कारोबार चैत ८ गतेदेखि हुने



काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको एकिकृत कारोबार चैत ८ गतेदेखि हुने भएको छ । नेपाल राष्ट्र बैंकबाट गत पुस ९ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट फागुन २३ गते स्वीकृति पाएपछि एकिकृत कारोबार चैत्र ८ गतेदेखि हुने भएको छ । मर्जरपछि कम्पनीको नाम एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड रहने र केन्द्रीय कार्यालय हाल स्वदेशी लघुवित्तको केन्द्रिय कार्यालय रहेको स्थान इटहरी उपमहानगरपालिका वडा नं ९, सुनसरीमा जिल्लामा रहने जनाएको छ ।

कर्णाली प्रदेशको विकट जिल्ला जाजरकोटमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रदेश १ स्थित सुनसरी जिल्लाको इटहरीमा रजिष्टर्ड कार्यालय रहेको स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडकाबीच मर्जर सम्बन्धी पुष १० गते अन्तीम समझौतापत्रमा हस्ताक्षर गरेका थिए ।

दुई संस्था बिच गाभ्ने/गाभिने मर्जर सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भई कार्तिक १९ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तीक सहमति प्राप्त भई पुष १० गते गाभ्ने सम्बन्धी अन्तीम समझौता भएको थियो । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको कर्णाली प्रदेश लगायत मुलुकका विकट पहाडी तथा हिमाली जिल्लाहरुमा समेत गरी कूल १२० शाखा संचालनमा रहेको छ भने स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको नेपाल भरि ८५ शाखा संचालनमा रहेका छन् । मर्जर पश्चात कुल शाखा संख्या १९३ शाखा हुनेछ । संस्थाको मर्जर पछि चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ पुग्ने छ ।