नेकपा टुक्रँदा मैले पार्टी अध्यक्ष पाएँ : सांसद खतिवडा - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

नेकपा टुक्रँदा मैले पार्टी अध्यक्ष पाएँ : सांसद खतिवडा



नारायणप्रसाद खतिवडा, सङ्घीय सांसद एवम् अध्यक्ष, नेकपा एमाले नुवाकोट

फागुन महिना तपाईंका लागि त शुभ महिना रहेछ, एकैपटक दुईवटा पद पाउनुभयो, बधाई छ ।

त्यसको लागि धन्यवाद छ पत्रकार मित्रलाई । संसद् पुनर्वहाली भएको छ । नेपाली जनताले ७ दशक लगाएर ल्याएको संविधानको रक्षा भएको छ । संसद् पुनर्वहाली भएसँगै खारेज भएको सांसद पदमा पुनर्वहाली भएँ । ०७५ साल जेठ ३ गते एकीकरण भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विधि र प्रक्रिया पुगेन भनेर वर्तमान अवस्थामा सर्वाेच्च अदालतले तिमीहरू छुट्टिएर बस भन्यो । न्याय माग्न जाँदा जे कुराको उल्लेख भएको थिएन नमागेको कुरा पनि सर्वाेच्च अदालतले दिएको छ । त्यसै कारणले हामी पुनः एमालेमा फर्किएका छौँ । म हिजो एमालेको अध्यक्ष थिएँ, अहिले फेरि एमालेको अध्यक्ष भएर काम गर्नुपर्ने परिस्थिति आएको छ । यो महिना मेरा लागि गुमेको सांसद पद र जिल्ला पार्टी अध्यक्ष प्राप्त गरेँ ।

अन्य जिल्लामा सङ्गठन निर्माणका लागि एमाले पुनस्र्थापित भएपछि दौडधुप चलिसकेको छ, तपाईं अहिले पनि पर्ख र हेरमै हुुनुहुन्छ कि द्विविधामा पर्नुभएको छ ?

यसमा केही द्विविधा छैन । हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (एमाले)को नवौँ महाधिवेशनमा जे विधान बनेको छ, त्यो विधानले गाइड गरेर यो पार्टी सञ्चालन हुन्छ । हिजोको हाम्रो स्थायी संरचना छ । पार्टीको जिल्ला कमिटी, क्षेत्रीय कमिटी छ, प्रदेशस्तरीय कमिटी, गाउँ कमिटी, वडा तहसम्मको हिजो हाम्रो थियो । हामीले ०७५ साल जेठ ३ गतेको एकता घोषणापछि ती पार्टीलाई मर्ज गरेका छौँ । सबै संरचना हामीले मर्ज गरिसकेका छौँ । हिजोको हाम्रो अवस्था अहिले पनि जस्ताको त्यस्तै छ । अहिले उछिनेर दौडधुप गरेर के–के न पाएजस्तो, के–के नै गुमेकोजस्तो गर्नुपर्ने परिस्थिति छैन । पार्टी केन्द्रीय कमिटीले पनि आफ्नो बैठक बोलाउँछ । बैठकले एउटा निर्देशन दिन्छ । पार्टी सङ्गठन बिग्रेको अवस्था छैन । यसलाई सुदृढ गरेर अगाडि बढाएर परिचालन गर्ने कुरामा म विश्वस्त छु । साथीहरूलाई यो पत्रिकामार्फत पनि त्यही भन्न चाहन्छु । पार्टी चल्ने विधि, विधान, पद्धतिअन्तर्गत हो । पार्टी केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय नेताहरूले व्यवस्थित गरेर अगाडि बढ्छौँ भन्नुभएको छ । म केन्द्रीय नेतृत्वको निर्देशन पर्खिरहेको छु ।

जिल्लामा पदभार ग्रहण गर्नका लागि अब कहिले जानुहुन्छ ?

अहिले संसद् चलिरहेको छ । एमालेमा दुईपटक जिल्ला कमिटीको अध्यक्ष विजय भएर काम गरिरहेको र नेकपा एकीकरणपछि पनि सचिव रहेर सङ्गठनको काम गरिरहेकाले गर्दा मेरो लागि पद नौलो होइन । यसै हप्ता जिल्ला गएर आएँ, साथीहरू भेटेँ, सबैले पार्टीलाई एकढिक्का बनाएर लैजान सुझाब दिनुभएको छ । एमाले नुवाकोटको अध्यक्ष भएको नाताले यतिखेर मेरो दोहोरो जिम्मेवारी भएकाले संसद्को कामको अवस्थालाई हेरेर पार्टीको केन्द्रले दिने निर्देशन पूर्ण रूपमा पालना गर्छु । ७७ जिल्लामा पार्टी कमिटी व्यवस्थित गर भनेर अन्तरपार्टी निर्देशन आएको छैन । हामी कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता अन्तरपार्टी निर्देशनअन्तर्गत चल्ने भएकाले पार्टी केन्द्रीय कमिटीको निर्देशन आएपछि हामी थप व्यवस्थित भएर पार्टीलाई अगाडि बढाउँछौँ ।

नेकपा पार्टी फुटेर एमाले र माओवादी बनिसकेपछि सबैभन्दा लाभ तपाईंलाई भयो नि ?

यो लाभहानिको विषय होइन । म ५० वर्ष अघिदेखि पार्टीको काममा लागिरहेको व्यक्ति पद र प्रतिष्ठा कहिले खोजिनँ । पार्टीको निर्देशनलाई अक्षरशः पालना गर्दै आएको छु । अदालतको निर्णयपछि कति साथीहरूले दीपावली पनि गरे । कति साथीहरू खुसी भए । तर, म भने दीर्घकालीन हिसाबले कम्युनिस्ट एकतामा आँच आएकोमा बेखुसी भएँ । कम्युनिस्ट एकता टुटेको छ । हिजो मुलुकका दुईवटा ठूला पार्टी एक भएर अगाडि बढेका थिए । यतिबेला कम्युनिस्ट पार्टी राजनीतिक नेताले फुटाएनन्, यो पार्टी अदालतले फुटाइदियो । एउटा कर्मचारीले, अदालतको न्यायाधीशले प्राविधिक हिसाबले यो पार्टी फुटाइदिएको छ । प्राविधिक हिसाबले पार्टी फुटिसकेपछि हिजो हामी जुन–जुन ठाउँमा सङ्गठित भएका थियौँ त्यहाँ छौँ । म अध्यक्ष हुँदैमा मैले त्यसलाई लाभ मानिरहेको छैन । एकता हुँदा सचिव थिएँ, कोही सचिव भएका मान्छे अध्यक्ष थिए, अध्यक्ष भएका सचिव थिए । त्यो एउटा एकता प्रक्रियामा गएको कुरा हो । म कम्युनिस्ट पार्टी टुक्रँदा मैले पार्टी अध्यक्ष पाएँ भनेर फुर्केको छैन । यो मैले पाएको नेकपा एमाले नुवाकोटको निर्वाचित अध्यक्ष पद हो, अहिले टीका लगाएर कसैले मायाले दिएको पद होइन । हिजो जहाँ थिएँ, जुन पार्टीबाट राजनीति सुरु गरेँ त्यही पुरानो ठाउँमा फर्केको छु । सर्वोच्च अदालतले पार्टी एकतालाई भङ्ग गरेर पुरानै ठाउँमा फर्काइदिएपछि मेरो मात्र होइन, दुई महिनाअगाडि केन्द्रीय सदस्य, प्रदेश कमिटी र जिल्ला अध्यक्षमा पदोन्नति भएका साथीहरूको पनि पद घटुवामा परेको छ ।
हिजो तपाईं ओली सरकार ढाल्न सडकमा जानुभयो, एमालेकै कार्यकर्ता पनि दुईतिर भए, अब कसरी अगाडि बढ्नुहुन्छ ?

हिजो तिक्ततापूर्ण भावना नै थिएन । यसअघि एमाले र माओवादी दुई पार्टी हुँदा नीति, सिद्धान्त र कार्यक्रम फरक थियो । आ–आफ्नो नीति–कार्यक्रम लिएर जनतामा जान्थ्यौँ, त्यो बेला द्वन्द्व हुन्थ्यो । पार्टी एक भएर नेकपा बन्यो, त्यसपछि पार्टीको नीति, सिद्धान्त एक भयो, त्यसबेला पूर्वमाओवादी र पूर्वएमाले मिलेर गएका थियौँ । पार्टी एकतापश्चात् नेकपामा विखण्डन आयो । यसले प्रतिगमन र अग्रगमनमा लाग्नेबीचमा दुई मत देखाप¥यो । संसद् विघटन पनि प्रतिगमनमा लाग्नेले सरकारले ठीक ग¥यो भनेर लागे भने हामी सरकारले गलत ग¥यो, संविधानको रक्षा गर्न सकेन भनेर सडक आन्दोलनमा गएका हौँ । त्यो हिजोको परिस्थिति हो । अब म नेकपा एमालेको नुवाकोटको अध्यक्ष छु । सबै एमालेका साथीहरूलाई जो–जहाँ जुन भूमिकामा थिए, सोही भूमिकामा फर्कन आग्रह गर्छु । म जिल्ला अध्यक्षको रूपमा गर्नुपर्ने व्यवस्थापनमा ध्यान दिनेछु । नेकपा एमालेको झन्डा समातेर एकढिक्का भएर अघि बढाउनेछु ।

नेकपा एमाले ब्युँतिएको छ, खुसी हुनुहुन्छ ?

हिजो म जुन पार्टीको निर्वाचित अध्यक्ष थिएँ सो पार्टी ब्युँतिदा बेखुसी हुनुपर्ने कारण छैन । हिजोको एमाले मेरो पनि पार्टी हो । म नुवाकोटमा एमाले स्थापनाकालदेखि नै लागेको मान्छे हुँ । कम्युनिस्ट आन्दोलनमा विचलन आयो, त्यसलाई टुक्र्याउने काम भयो । कम्युनिस्ट पार्टी टुक्रँदा असाध्यै खुसी हुनुपर्ने अवस्था भने छैन । हामी तीन वर्ष पछाडि फर्किएका छौं ।

संसद् पुनस्र्थापना भएपछि जनताको काम कसरी अगाडि बढाउनुहुन्छ ?

स्रोत र साधनले भ्याएसम्म जनताको आवश्यकता पूरा गर्न लाग्नेछु ।


प्रतिक्रिया दिनुहोस्