नेप्सेको ओरालो यात्रा कायम, राजनीतिक अस्थिरताले लगानीकर्ता अन्यौलमा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) निरन्तर ओरालो लागेको छ । साताको पहिलो दिन आइतबार घटेको नेप्से सोमबार पनि घटेको छ । पछिल्लो समय राजनीतिक अस्थिरता रहेकाले नेप्से घटेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नै सरकार रहने की अन्य कुन पार्टीको सरकार बन्ने हो भनेर लगानीकर्ता अन्यौल बनेका छन् ।
राजनीतिक अस्थिरता कायम रहेकाले लगानीकर्ताहरु पनि दोधारमा परेका छन् । २६ सय भन्दा माथि पुगेको नेप्से राजनीतिक अस्थिरताले गर्दा २४ सय तल झरेको छ ।
सोमबार नेप्से परिसूचक १८.०७ अंकले घटेर २३८९.१९ अंकमा बन्द भएको छ । नेप्से परिसूचक घटेसँगै कारोबारमा पनि कमी आएको छ । १० अर्ब बढिको कारोबार हुने नेप्सेमा सोमबार ४ अर्ब २४ करोड ८४ लाख २४ हजार ६६ रुपैयाँको कारोबार भएको छ । सोमबार २१२ कम्पनीको ९६ लाख ४ हजार ५२९ सेयर कित्ता ५२ हजार ३०९ पटक किनबेच भएको छ ।

सोमबार सर्वाधिक निर्जीवन बीमा समूह १९२.६१ अंक र जीवन बीमा समूह १२१.०६ अंकले लगानीकर्ताले धेरै गुमाए । होटेल एण्ड पर्यटन समूहका लगानीकर्ताले ९०.९३ अंकले कमाएका छन् ।













