अप्रत्याशित बहुमत नजिक पुग्दै नेतान्याहू फेरि सत्ता सम्हाल्ने तयारीमा
काठमाडाैँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू इजरायली यहूदीहरूको अपेक्षाकृत स्पष्ट बहुमत समर्थन प्राप्त गर्दै अर्को राजनीतिक कार्यकाल सुरक्षित गर्न सफल भएका छन् । यससँगै उनी कम्तीमा पनि कार्यवाहक प्रधानमन्त्रीको रूपमा सत्तामा कायम रहने निश्चित जस्तै देखिएको छ ।
नेपालभन्दा ३ घण्टा ४५ मिनेट ढिला घाम झुल्किने याे देशमा बुधबार बिहानसम्म करिब ७७.६ प्रतिशत मत गणना हुँदा, इजरायली सञ्चारमाध्यमहरूले नेतान्याहूसँग आबद्ध दलहरूको गठबन्धनले संसदमा ५४ सिट जित्ने प्रक्षेपण गरेका छन् ।
यो नतिजा उनका प्रतिद्वन्द्वी गादी आइसेंकोटको विपक्षी गठबन्धनले प्राप्त गरेको ४९ सिटभन्दा निकै बढी हो। यता, अत्यधिक मतदाताको उत्साहजनक सहभागिताका कारण अरब मूलका इजरायलीहरूको प्रतिनिधित्व गर्ने दलहरूले भने १७ सिट जितेर नयाँ रेकर्ड कायम गर्ने देखिएका छन्।
मतगणना जारी रहेकाले नतिजामा थप फेरबदल हुन सक्ने भए पनि आइसेंकोटका लागि जितको सम्भावना भने टाढिँदै गएको देखियो। मध्यमार्गी वामपन्थीदेखि कडा दक्षिणपन्थी शक्ति समेटेको उनको विपक्षी गठबन्धनले चुनावअघि कडा प्रतिस्पर्धा हुनेछ भन्ने जनमत सर्वेक्षणको अनुमानभन्दा कमजोर प्रदर्शन गर्यो।
अपेक्षित रूपमा नै नेतान्याहूले १२० सदस्यीय नेसेट (संसद) मा आफ्नो गठबन्धनको प्रत्यक्ष बहुमत गुमाए पनि उनका विरोधीहरूसँग भने अरब दलहरूको व्यापक समर्थन स्वीकार गर्ने असम्भव जस्तै देखिने सम्झौता बिना उनलाई सत्ताच्युत गर्ने कुनै उपाय बाँकी रहेन । जसलाई धेरै यहूदी नेताहरूले अस्वीकार गर्दै आएका छन्।
यस्तो अवस्थामा पनि उनी सम्भावित गठबन्धन वार्ताबिच वा अर्को वर्ष हुने नयाँ निर्वाचनसम्म कार्यवाहककै रूपमा पदमा कायम रहनेछन्।
सुरक्षा सङ्घर्ष र इरानप्रतिको दृष्टिकोण
जेरुसेलमस्थित पार्टीको निर्वाचन मुख्यालयमा बिहान ३ बजेभन्दा केही समयपछि आफ्ना समर्थकमार्फत लिकुड पार्टीका मतदातालाई सम्बोधन गर्दै नेतान्याहूले बलियो र देशभक्त राष्ट्रिय सरकार गठन गर्न आह्वान गरे।
त्यस अवसरमा उनले इजरायलको सैन्य सफलतालाई जोड दिँदै आफ्ना सहयोगी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिलेर इरानविरुद्ध पुनः संयुक्त सैन्य कारबाही अगाडि बढाउने सम्भावनासमेत व्यक्त गरे। इजरायलले आफ्ना साझोदार राष्ट्रपति ट्रम्पसँग मिलेर इरानको अस्तित्वगत खतरालाई सधैंको लागि समाप्त पार्ने अनौठो ऐतिहासिक अवसर पाएको बताउँदै उनले यो पवित्र मिशनबाट अन्य कुनै पनि स्वार्थले ध्यान भङ्ग गर्न नहुने स्पष्ट पारे।
यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायली मतदाताहरूलाई नेतान्याहूलाई नै सत्तामा राख्न आह्वान गरेका थिए ताकि दुई नेताले इरानविरुद्धको कार्यलाई पूर्णता दिन सकून्।
ट्रम्पले आफ्नो समर्थनका कारण नै नेतान्याहूले धेरै राम्रो नतिजा ल्याउन सकेको दाबी गरे। बुधबार बिहान टेक्ससमा चुनावी अभियानको क्रममा कुरा गर्दै ट्रम्पले यो जित वा बराबरी दुवै हुन सक्ने तर यस्तो अवस्थामा बराबरीलाई पनि ठूलो बुद्धिचाल खेलसरह जित नै मानिने बताए।
संसदीय बहुमतबिनाको कार्यवाहक सरकार बन्ने सम्भावनाले इजरायलको वित्तीय बजारलाई भने प्रभावित तुल्यायो। सेकेल मुद्रा अमेरिकी डलरको दाँजोमा करिब १.६ प्रतिशतले कमजोर हुँदै ३.१० मा झर्यो भने तेल अभिभका प्रमुख बेञ्चमार्क सेयर परिसूचकहरू ३ प्रतिशतभन्दा बढीले गिरावट आए।
सुरक्षा निकायमाथिको चासो
विपक्षी नेता आइसेंकाेडले नेतान्याहू अझै पनि कार्यवाहक प्रधानमन्त्रीको रूपमा रहेको स्वीकार गरे, तर उनले प्रधानमन्त्रीले जनसमर्थन गुमाइसकेको भन्दै राजनीतिबाट सन्यास लिन आग्रह गरे। साथै, नेतान्याहूबाट सुरक्षा संयन्त्रको राजनीतिक स्वार्थका लागि प्रयोग हुन सक्ने भन्दै उनले गम्भीर चेतावनीसमेत जारी गरे।
सुरक्षा निकाय र निजामती सेवाका प्रमुखहरूलाई सम्बोधन गर्दै आइसेंकोटले नेतान्याहू जनविश्वास र म्यान्डेट गुमाइसकेका कार्यवाहक प्रधानमन्त्री मात्र भएको बताए। उनले सबै कर्मचारीहरूले देश र इजरायली नागरिकको हितको मात्र सेवा गर्नुपर्ने र कुनै पनि किसिमका दबाब वा चुनौतीको सामना दृढताका साथ गर्न आग्रह गरे।
साथै, नेतान्याहूलाई लक्षित गर्दै उनले इजरायलको सुरक्षालाई आफ्ना राजनीतिक आवश्यकताका लागि प्रयोग गर्ने दुस्साहससमेत नगर्न चेतावनी दिए।
हमासको नेतृत्वमा लडाकुहरूले १ हजार २०० मानिसको हत्या गर्नुका साथै २५१ जनालाई बन्धक बनाएर गाजा, लेबनान र इरानसँगको युद्धमा धकेलेयता इजरायलमा भएको यो पहिलो निर्वाचन हो। गाजाको युद्धले सो भूभागलाई ध्वस्त पार्नुका साथै ७४ हजार प्यालेस्टाइनीहरूको ज्यान लिइसकेको छ।
निर्णायक फेरबदल ?
इजरायली यहूदीहरूको ठूलो हिस्साबाट नेतान्याहूप्रति निरन्तर कायम रहेको समर्थन यस युगका प्रमुख राजनीतिक व्यक्तित्वका रूपमा उनले हाँकेको इजरायली राजनीतिको निर्णायक परिवर्तनको स्पष्ट सङ्केत हो।
यहूदी राष्ट्रवादप्रति उनको कुनै पश्चात्ताप नभएको अडिग सोच, प्यालेस्टाइनी भूमिमा भइरहेको बस्ती विस्तारलाई समर्थन र सबै किसिमका वैदेशिक आलोचनाप्रतिको उपेक्षाको भावना अहिले इजरायलको मूलधारमा बलियो रूपमा जरा गाडेर बसेको छ। इजरायलको इतिहासको पहिलो आधा भागमा प्रभाव जमाएको र प्यालेस्टाइनी भूभागहरूसँगको सम्बन्ध छुटाउने वार्ताको नेतृत्व गरेको मध्यमार्गी वामपन्थी शक्ति अहिले एउटा सानो किनाराको शक्तिमा सीमित हुन पुगेको छ।
सन् १९९० को दशकमा इजरायलको अहिलेसम्मकै कान्छा नेताको रूपमा पहिलो पटक सत्ता सम्हाल्दादेखि नै अन्तर्राष्ट्रिय स्तरमा समर्थित शान्ति वार्ताहरूको आधार रहँदै आएको स्वतन्त्र प्यालेस्टाइनी राज्यको परिकल्पनालाई अहिले लगभग सबै यहूदी दलहरूले नेतान्याहूसँगै अस्वीकार गर्ने गरेका छन्।
राजनीतिक वनवासको केही अवधिपछि उनी २००९ मा पुनः सत्तामा फर्किए र त्यसयता उनी लगातार जस्तै सत्तामा छन्, यद्यपि दुई वर्षमा चारवटा अनिर्णित चुनावपछि विरोधीहरूको कमजोर गठबन्धनले उनलाई १८ महिनाको लागि मात्र सत्ताबाट बाहिर राख्न सफल भएको थियो।
निर्वाचनमा उच्च मतदान
मंगलबारको निर्वाचनलाई नेतान्याहूका समर्थक र विरोधी दुवैले देशका लागि एक निर्णायक मोडका रूपमा लिएका थिए, जसले गर्दा दुई दशकयताकै सबैभन्दा बढी ७७.७ प्रतिशत मतदान हुन पुग्यो।
जनसंख्याको पाँच भागको एक भागभन्दा बढी हिस्सा ओगटेका तर तिनका प्रतिनिधिहरू ऐतिहासिक रूपमा नै मन्त्रिपरिषद्बाट बाहिर राखिँदै आएका प्यालेस्टाइनी मूलका इजरायलीहरूबीच मतदान विशेष रूपमा उत्साहजनक रह्यो।
अनेकौँ अरब दलहरूको गठबन्धन मानिएको ‘ज्वाइन्ट लिस्ट’को मुख्यालयमा एक्जिट पोल सार्वजनिक हुँदा सिट्टी र तालीको गडगडाहट गुञ्जियो। ‘ज्वाइन्ट लिस्ट’ का उम्मेदवार फातेन गात्तासले आफूहरूले कब्जा र नश्लवादलाई अस्वीकार गर्ने र यहीं निरन्तर बसिरहने बताए।
पछिल्लो पटक नेतान्याहूलाई सत्ताच्युत गर्ने गठबन्धन एउटा सानो अरब दलमा निर्भर रहेको थियो, तर आइसेंकोटका कमजोर प्रदर्शनले गर्दा अब विपक्षी दलहरूले देशको स्थापनाकालदेखि नै यहूदी नेताहरूका लागि असह्य मानिंदै आएको ‘ज्वाइन्ट लिस्ट’ को नै प्रत्यक्ष समर्थन लिनुपर्ने अवस्था सिर्जना भएको छ।















