२४ भदौ २०८३, बुधबार

आरम्भ चौतारी लघुवित्तको नेतृत्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न



काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले Leadership Development Training कार्यक्रम काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा सम्पन्न गरेको छ । फागुन २७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको उक्त ३ दिनको तालिम कार्यक्रममा आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाका विभागीय प्रमुखहरु, अनुगमन अधिकृतहरु, प्रदेश प्रमुख लगायत केन्द्रीय कार्यालय र प्रदेश कार्यालयका कर्मचारीहरु, देउराली लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सहित विभागीय प्रमुख, वि.पि.डव्लु लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत समेत गरी जम्मा ३२ जनाको सहभागीता रहेको थियो ।

तालिम कार्यक्रमको उदघाटन सत्रमा पाल्नुहुने अतिथि एवं तालिमका सहभागीहरुलाई स्वागत गर्दै संस्थाका नायव कार्यकारी अधिकृत किरण काफ्लेले हाल नेपालमा लघुवित्त संस्थाहरुले विपन्न वर्गलाई प्रभावकारी रुपमा सेवा प्रदान गरिरहेको र ग्राहकहरुलाई सेवा प्रदान गर्ने क्रममा लघुवित्त संस्थाहरुवीचमा अत्यधिक प्रतिष्पर्धा रहेको वर्तमान अवस्थामा व्यवसाय सञ्चालन तथा विस्तारको लागि संस्थामा कार्यरत जनशक्तिको प्रमुख भूमिका रहने भएकोले कर्मचारीहरुको दक्षता तथा क्षमता अभिबृद्धिको लागि संस्थाले यो तालिमको आयोजना गरेको र भविष्यमा समेत आवश्यकताको पहिचान गरी कर्मचारीहरुलाई यस संस्थाबाट तालिमहरु प्रदान गर्दै जाने योजना रहेको कुरा वताउनु भयो ।

तालिम कार्यक्रमको उदघाटन गर्नुहुंदै प्रमुख अतिथि तथा सञ्चालक समितिका अध्यक्ष जगत वहादुर पोखरेलले नेपालको विपन्न वर्गको आर्थिक सम्बृद्धिको महान अभियानको रुपमा आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था अगाडी वढीरहेको हुंदा यो संस्थाले निकट भविष्यमा सवै जिल्लाहरुमा शाखा सञ्जाल विस्तार गरी खासगरी नेपालको विकट वस्तीहरुमा वस्ने पिछडिएका वर्गहरुलाई विशेष प्राथमिकता दिई उनीहरुलाई समेत सेवा पुर्याउने लक्ष्य रहेको वताउनु भयो । कर्मचारीहरु संस्थाका खम्वा भएकाले संस्थाले आफ्नो खम्वालाई वलियो र सुदृढ वनाउने क्रममा यो तालिम आयोजना गरिएको वताउंदै यस संस्थाका कर्मचारीहरुले सेवाग्राहीहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्न, कर्मचारीहरुले लघुवित्तको वजारमा प्रतिष्पर्धाका लागि थप गति वढाउन साथै हरेक पल हरेक क्षण कर्मचारीहरु सकारात्मक तथा सृजनात्मक सोंचाइका साथ अगाडी वढ्न निर्देशन दिनुभएको थियो । माइक्रोफाइनान्स एसोसिएसन अफ नेपालका अध्यक्ष समेत रहनुभएका पोखरेलले नेपाल सरकारले वितरण गर्ने बृद्ध भत्ता लगायतका सामाजिक सुरक्षा भत्ताहरु लघुवित्त संस्थाहरु मार्फत वितरण गर्ने व्यवस्था गर्न सकेमा सेवाग्राहीहरुले घरदैलोमा नै छिटो, सरल तथा सहज रुपमा भत्ता लिन सक्ने भएकोले यस तर्फ समेत एसोसिएसन मार्फत अर्थमन्त्रालयमा पहल भइरहेको कुरा वताउनु भयो ।

उक्त तालिम कार्यक्रमको उदघाटन सत्रमा संस्थाका सञ्चालक सन्तोष पोखरेलले संस्थाले सञ्चालन गरेको यस तालिमको लागि सफलताको शुभकामना दिनु हुंदै कर्मचारीहरुको क्षमता बृद्धि गर्नको लागि यस्ता तालिमहरुको आवश्यकता रहने र कर्मचारीहरुलाई Need Basis को आधारमा तालिम प्रदान गर्न र संस्थाले प्रदान गर्ने तालिमहरुबाट सिकेर कर्मचारीहरुले आफ्नो कार्यसम्पादन दक्षता वढाउन सुझाव दिनुभएको थियो ।

तालिम कार्यक्रमको सभापति तथा संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुको दक्षता अभिबृद्धि गर्न र भविष्यमा संस्थाले आन्तरिक रुपमा सञ्चालन गर्ने तालिम कार्यक्रमहरुको लागि कुशल र दक्ष प्रशिक्षक समेत संस्था भित्रैबाट तयार गर्दै जाने योजना अनुसार Leadership Development Training कार्यक्रमको आयोजना गरेको वताउनु भयो । संस्थाले हालसम्म हासिल गरेको प्रगतिका वारेमा प्रकाश पार्दै आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले लक्षितवर्गहरुमा कर्जा तथा वचतका कार्यक्रमहरु लगायत सामाजिक कार्यक्रमहरु समेत सञ्चालन गर्दै आइरहेको कुरा वताउनु भयो ।

तालिम कार्यक्रममा चार्टरर्ड एकाउन्टेट दुर्गा प्रसाद ज्ञवाली, नेपालका लघुवित्त क्षेत्रका विज्ञहरु स्वावलम्वन लघुवित्त वित्तीय संस्थाका पूर्व प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याल, ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाका पूर्व प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्की, फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका पूर्व प्रमुख कार्यकारी अधिकृत भेषराज पन्थी, सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल, JCI International Trainer मिलन गुरुङ्ग, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक सन्तोष पोखरेल र नापी विज्ञ लेखनाथ दाहालले तालिम प्रदान गर्नुभएको थियो ।

तालिम कार्यक्रमको समापन समारोहमा सहभागीहरुकोे तर्फबाट अनुगमन अधिकृत रिपेन्द्र दाहाल, वि.पि.डव्लु लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रमीला शाक्य, देउराली लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवालीले तालिम कार्यक्रम अत्यन्त राम्रो तथा फलदायी भएको र यसबाट सिकेका विषयवस्तुहरुलाई सहभागीहरुले कार्यान्वयनमा ल्याउन सक्नुपर्ने वताउनुभयो ।

समापन सत्रमा सञ्चालक समितिका अध्यक्ष जगत वहादुर पोखरेलले प्रत्येक सहभागीहरुसंग अन्तक्रिया गर्दै तालिमको विषयवस्तुहरुमा सिकेका कुराहरुको वारेमा जानकारी लिनुभएको थियो । अन्तमा प्रमाणपत्र वितरण गर्दै अध्यक्ष पोखरेलले यस वित्तीय संस्थाले छोटो समयमा हासिल गरेको प्रगतिमा सञ्चालक समितिको टीमको सक्रियता र कर्मचारीहरुको महत्वपूर्ण योगदान रहेकोमा धन्यवाद व्यक्त गर्नु हुंदै आगामी दिनमा यस संस्थाको थप उन्नती प्रगतिको लागि दत्त चित्त भएर कार्य गर्न शुभकामना दिनुभएको थियो । तालिम कार्यक्रमका सभापति तथा प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले सञ्चालक समितिका अध्यक्ष लगायत अन्य सदस्यहरुको संस्थाले गरेको कार्यक्रम र संस्थाको उन्नती प्रगतिको लागि प्राप्त भइरहेको निरन्तर सुझाव तथा लगावले संस्थाका व्यवस्थापनमा रहने कर्मचारीहरुलाई समेत उर्जा प्रदान भइरहेको वताउनु भयो । समापन समारोहमा उपस्थित सञ्चालक समितिका अध्यक्ष लगायत सञ्चालकज्यूहरु पुष्पराज ढकाल, दीपक कुमार वुढाथोकी, सन्तोष पोखरेल, केशवराज पंन्थी एवं पूर्व सञ्चालकहरु, सहभागी कर्मचारीहरुलाई धन्यवाद तथा शुभकामना दिंदै तालिम कार्यक्रमको समापन गर्नुभएको थियो ।

काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा केन्द्रीय कार्यालय रहेको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले हालसम्म सातवटै प्रदेशका ५२ जिल्लामा १ सय ३३ वटा शाखा कार्यालय विस्तार गरी करिब ७५५४० हजार सदस्यहरूलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । यस अवधिमा संस्थाको लगानीमा रहेको कर्जा रु. ३ अर्ब ६७ करोड, कुल बचत रु. १ अर्ब ११ करोड रहेको छ ।