हिमाल र उच्च पहाडमा भारी हिमपातको खतरा, तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह
उच्च पहाडी तथा हिमाली क्षेत्रमा सम्भावित भारी हिमपात र हिमपहिरोको जोखिम बढेसँगै अध्यागमन विभागले तीन दिनका लागि पदयात्रा अनुमति बन्द गर्दै सुरक्षित स्थानमा बस्न आग्रह गरेकाे छ ।
काठमाडाैँ । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन सक्ने मौसमी विपद्को जोखिमलाई ध्यानमा राख्दै सरकारले तीन दिनसम्मका लागि पदयात्रा गतिविधि रोक्न अनुराेध गरेकाे छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १२, १३ र १४ गते उच्च हिमाली र पहाडी क्षेत्रमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको उच्च जोखिम रहेको चेतावनी दिएपछि अध्यागमन विभागले यो निर्णय लिएकाे हाे ।
अध्यागमन विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै उक्त तीन दिनको अवधिमा उच्च पहाडी र हिमाली क्षेत्रका निषेधित स्थानमा पदयात्रामा जाने अनुमतिपत्र जारी नगरिने बताएकाे छ। विभागले यो व्यवस्था मंगलबारैदेखि लागु हुने गरी पूर्ण रूपमा रोकिएको जनायाे।
विपद्को यो जोखिमपूर्ण अवस्थालाई ध्यानमा राख्दै विभागले पदयात्राका क्रममा यसअघिनै तोकिएका क्षेत्रभित्र प्रवेश गरिसकेका पर्यटकहरूलाई जथाभावी नहिँडी सुरक्षित स्थान वा आश्रयस्थलमा मात्र बस्न आग्रह गरेकाे छ। मौसमको प्रतिकूलताबीच हुन सक्ने मानवीय दुर्घटना टार्न यो सतर्कता अपनाइएको विभागका अधिकारीहरूले बताए।
यस्तै, विभागले ट्रेकिङ एजेन्सी, पदयात्री, पथप्रदर्शक र सम्बन्धित सबै सरोकारवालाहरूलाई यो सूचनाको कडा रूपमा पालना गर्न र गराउन निर्देशन दिएकाे छ। विपद्को जोखिम टरेको आधिकारिक सूचना नआएसम्म हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रा पूर्ण रूपमा स्थगित गर्न विभागले सबैलाई सचेत गराएकाे छ ।
















