सर्वोत्तम सिमेन्टको आईपीओ निष्काशन प्रक्रिया अघि बढ्यो, पहिलो ३ महिनामै ३५% लाभांश बाँड्ने
काठमाण्डौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि ग्लोबल आईएमई क्यापिटल लिमिटेड, सहायक बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड र प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।
कम्पनीले कुल ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता सेयर आईपीओ निष्कासन गर्नेछ । जुन चुक्तापुँजीको १५ प्रतिशतले हुन आउनेछ । कुल निष्कासन हुने साधारण सेयरमध्ये २४ लाख कित्ता संस्थागत लगानीकर्तालाई, स्थानीय जिल्लावासीलाई ८ लाख कित्ता र कम्पनीका कर्मचारी र अन्य सर्वसाधारणलाई २८ लाख कित्ता छुट्याइएको छ ।
कम्पनी आन्तरिक मूल्यांकन तथा केही आधारहरु अध्ययन गर्दा प्रतिकित्ता सेयरको मूल्य ७५० रुपैयाँभन्दा बढी हुनेमा विश्वस्त रहेको छ । अन्तिम मूल्य भने संस्थागत योग्य लगानीकर्ताहरुद्वारा बोलकबोल विधिबाट निर्धारण हुने छ ।
आईपीओबाट प्राप्त रकममध्ये ४० प्रतिशत ऋण भुक्तानी गरी सतप्रतिशत ऋणमुक्त हुने र बाँकी रकमले उत्पादन क्षमता दोब्बर गर्ने रहेको र यसबाट ४ वर्षपछि वार्षिक प्रतिफल ७५ प्रतिशतभन्दा बढी हुन जाने प्रक्षेपण गरिएको कम्पनीले जनाएको छ । आईपीओ जारीपश्चात पहिलो ३ महिनाभित्रै १० प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश दिने निश्चित भएकोले सोबापत झन्डै रु. १०० प्रतिसेयरको आम्दानी तत्कालै हुने कम्पनीको दाबी छ । हाल कम्पनीको सम्पत्ति रु. २००० करोड हेको छ । हाल कम्पनीको चुक्तापुँजी ३ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी ४ अर्ब रुपैयाँ पुग्ने छ ।













