७ श्रावण २०८३, बिहिबार

मर्जरको लहर चलेसँगै दर्जन लघुवित्तलाई सेयर संरचना मिलाउन एफपीओ जारी गर्नुपर्ने बाध्यता



काठमाडौं । लघुवित्त कम्पनीहरूमा मर्जरको लहर चलेसँगै धेरै लघुवित्त कम्पनीहरूलाई सेयर संरचना मिलाउन एफपीओ जारी गर्नुपर्ने बाध्यता परेको छ । केन्द्रिय बैंकको व्यवस्थाअनुसार सेयर संरचना कायम गर्न थप सार्वजनिक निष्काशन गर्नुपर्ने भएको हो । केन्द्रीय बैंकले लघुवित्त कम्पनीहरूको पुँजी बढाउँदै मर्जरमा जान दबाब दिएपछि लघुवित्त कम्पनीहरूमा मर्जरको क्रम बढेको छ । ९० वटाभन्दा बढी पुगेका लघुवित्त कम्पनीहरू अहिले ७६ वटामा झरिसकेका छन् ।

लघुवित्त कम्पनीहरू मर्जरमा जाँदा दुबै कम्पनीले आईपीओ जारी गरिसकेको र दुबैले आईपीओ जारी नगरेका लघुवित्त आपसमा गाभिँदा एफपीओ जारी गर्नु नपर्ने भए पनि आईपीओ जारी गरेको र नगरेको लघुवित्त आपसमा गाभिँदा भने एफपीओ जारी गर्नुपर्ने बाध्यता रहन्छ ।

दुबै लघुवित्तले आईपीओ जारी गरिसकेको अवस्थामा मर्जरमा जाँदा उनीहरूको सेयर संरचना केन्द्रीय बैंकले तोकेअनुसारकै रहन्छ । आईपीओ जारी नगरेका लघुवित्तहरूले पनि मर्जरपश्चात् आईपीओ जारी गर्न सक्छन् । तर, आईपीओ जारी गरिसकेको लघुवित्तले आईपीओ जारी नगरेका लघुवित्तसँग मर्जर गर्दा केन्द्रीय बैंकले भनेअुसारको सेयर संरचना कायम हुँदैन ।

लघुवित्त कम्पनीहरूले पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्नुपर्ने हुन्छ । पहिले नै ३० प्रतिशत आईपीओ जारी गरेका लघुवित्तले आईपीओ जारी नगरेका लघुवित्तलाई एक्वायर गर्दा सर्वसाधारणको हिस्सा ३० प्रतिशतभन्दा कम हुन आँउछ जसले गर्दा उक्त संरचना मिलाउन लघुवित्त कम्पनीहरूले एफपीओ जारी गर्ने तयारी गरेका हुन् ।

आईपीओ जारी गरिसकेका लघुवित्तहरूले आईपीओ जारी नगरेका लघुवित्तहरूलाई मर्ज गर्दा पुँजी संरचना मिलाउन एफपीओ जारी गर्नुपर्ने लघुवित्त बैंकर्स सँघका अध्यक्ष एवम् विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत वसन्त लम्साल बताउँछन् । “आईपीओ जारी गरिसकेका लघुवित्तले आईपीओ जारी नगरेका लघुवित्तलाई मर्ज गर्दा पुँजी संरचना मिलाउन एफपीओ जारी गर्ने हो,” उनले भने, “केन्द्रीय बैंकको व्यवस्थाअनुसार सेयर संरचना मिलाउन परि हाल्यो । त्यसको लागि जति पुर्याउनुपर्ने हो, त्यही रकम बराबरको सर्वसाधारणमा थप सार्वजनिक निष्काशन गर्ने हो ।”

विजय लघुवित्तले पनि आईपीओ जारी नगरेको खप्तड लघुवित्तलाई आफूमा गाभेको छ । जसले गर्दा विजय लघुवित्तले पनि एफपीओ जारी गर्ने तयारीमा छ । “हामीले पनि आईपीओ जारी नगरेको खप्तड लघुवित्तलाई मर्ज गरेका छौँ,” उनले भने, “पुँजी संरचना मिलाउन हामी पनि एफपीओ जारी गर्ने हो ।”

प्रिमियममा एफपीओ निष्काशन गर्दा कम्पनीलाई सेयर प्रिमियमवापत् फाइदा पनि हुने कारण कम्पनीहरू एफपीओ निष्काशनमा उत्साहित भएको लम्साल बताउँछन् । हालसम्मको तथ्यांकअनुसार करिब दर्जन लघुवित्त कम्पनीहरूले एफपीओ जारी गर्न सक्ने देखिएको छ । जसमध्ये केही लघुवित्तले साधारण सभाबाट एफपीओ जारी गर्ने प्रस्ताव पारित गरिसकेका छन् भने केही लघुवित्तले मर्जर प्रक्रिया सकेर एफपीओ जारी गर्ने प्रस्ताव पारित गर्ने तयारीमा छन् । ८ वटा लघुवित्त भने मर्जर प्रक्रियामा नै रहेका छन् उनीहरूले पनि मर्जर प्रक्रिया सकिएपश्चात् सेयर संरचना मिलाउन एफपीओ जारी गर्न सक्ने देखिएको छ ।

हालसम्म एनआरएन लघुवित्त, समिट लघुवित्तलगायतका केही लघुवित्त कम्पनीहरूले एफपीओ जारी गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरिसकेको छ भने मिर्मिरे लघुवित्तले पनि एफपीओ जारी गर्न बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । त्यसैगरी, आरम्भ चौतारी लघुवित्त, समाज लघुवित्त, विजय लघुवित्त, घोडीघोडा लघुवित्त, वोमी लघुवित्त, महुली सामुदायिक लघुवित्त, नयाँ नेपाल लघुवित्त र सूर्योदय लघुवित्तले पनि आईपीओ जारी नगरेका लघुवित्त कम्पनीहरूलाई आफूमा गाभेका छन् । जसले गर्दा सेयर संरचना मिलाउन यी लघुवित्त कम्पनीहरूले पनि एफपीओ जारी गर्नेछन् ।सेयर बजार


प्रतिक्रिया दिनुहोस्