१८ भदौ २०८३, बिहिबार

दक्षिणकाली मन्दिर परिसरमा सनराइजकोे क्यूआरबाट भुक्तानी सेवा सुरु



काठमाडौं । सनराइज बैंकले दक्षिणकाली मन्दिर परिसरमा क्यूआर भुक्तानी सेवा सुरु गरेको छ । दक्षिणकाली मन्दिर परिसरको बजारमा क्यूआर कोड भुक्तानी कारोबारको आज एक कार्यक्रका बीच शुभारम्भ नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेंलले गर्नुभएको हो ।

उपभोक्ता तथा भक्तजनहरुले आफ्नो मोबाइल बैंकिङ्ग एप्लिकेसन वा मोबाइल वालेटमार्फत सजिलै दक्षिणकाली मन्दिर परिसरमा रहेका पसलहरुमा पूजा सामाग्री, चिया नास्ता तथा अन्य सामाग्रीहरुको खरिद रकमको भुक्तानी गर्न सक्नेछन् । ग्राहकहरुको सहजताको लागि बैंकले मन्दिर परिसरमा FREE WIFI को समेत व्यवस्था गरेको छ । ग्राहकहरुले दक्षिणकाली मन्दिर परिसरमा रहेको अधिकांश पसलहरुमा क्यूआर कोडबाट क्यूआर पेमेन्ट सुबिधा लिनसक्ने बैंकले जनाएको छ । सनराइज बैंक र दक्षिणकाली क्षेत्र विकास समितिको सहकार्यमा मन्दिर परिसरमा क्यूआर कोड मार्फत भुक्तानी कारोबारको सुरुवात भएको हो ।

क्यूआर कोड भुक्तानी सेवा उद्घाटनमा नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेंल, दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत, उप(मयेर बसन्त तामाङ्ग, दक्षिणकाली क्षेत्र विकास समितिका अध्यक्ष शंकरमान महर्जन, सनराइज बैंकका संचालक शारदा शर्मा पुडासैनी, प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, बैंकका वरिष्ठ पद्याधिकारीहरु लगायत दक्षिणकाली क्षेत्र विकासका अन्य सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।

नगद तथा कार्ड प्रयोगको विकल्पमा क्यूआर कोड भुक्तानी अझै छिटो,झन्झटमुक्त हुनुका साथै कारोबारको कुनै शुल्क नलाग्ने भएकाले पछिल्लो समय उपभोक्ताहरु यो नबिन सेवातर्फ आकर्षित भइरहेका छन् । डिजिटल कारोबारलाई प्रश्रय दिन र क्यासलेस कारोबारलाई बढावा दिनका लागि सनराइज बैंकले क्यूआर कोड भुक्तानी सेवा अझै प्रभावकारी ढङ्गले अगाडि बढाइरहेको बैंकले जनाएको छ । यसै सिलसिलामा बैंकले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सीहरुमा, त्रिनगर कृषि हाटबजार, धनगढीमा लगायत देशभरीका विभिन्न ठाउँमा क्यूआर कोड भुक्तानीको व्यवस्था गर्दै आएको छ ।