एनसीसी बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने, वार्षिक साढे ९ प्रतिशत ब्याज पाइने
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी) को ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने भएको छ । बैंकको वार्षिक साढे ९ प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा आज (चैत १३ गते) देखि आवेदन दिन सकिने भएको छ । सो ऋणपत्रको नाम ‘९.५० प्रतिशत एनसीसी ऋणपत्र २०८६’ रहेको छ ।
बैंकले एक हजार अंकित मूल्यका दरले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । निष्काशन गरिएको कुल ऋणपत्रमध्ये १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत र बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा बिक्री खुला गरेको हो । सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ६० हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ । त्यसैले, सर्वसाधारण लगानीकर्ताहरुले कुल ११ लाख ४० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
सो ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने छ । ऋणपत्र निष्काशन तथा बिक्री छिटोमा चैत १८ गते र ढिलोमा चैत २७ गतेसम्म आवेदन दिन सकिने छ । ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।













