२६ भदौ २०८३, शुक्रबार

लामो समयदेखि कारोबार बन्द भए कम्पनीको सेयर मूल्य के हुन्छ ?



काठमाडौं । विभिन्न कारणले विभिन्न कम्पनीको सेयर करोबार स्थगित वा बन्द हुन्छ । नेप्सेले माग गरेका डकुमेन्ट नबुझाएमा नेप्सेले कारोबार बन्द गरिदिन्छ वा स्पष्टिकरण माग गर्छ । तर समय–समयमा स्पष्टिकरण माग गरेर पनि ६० दिनभित्र कुनै जवाफ नआएमा नेप्सेले कारोबार बन्द गर्न सक्छ । यसरी ६० दिनसम्म कुनै कम्पनीको सेयर कारोबार नभएमा नेप्सले नयाँ मूल्य तोक्न सक्छ ।

यदि कुनै पनि कम्पनीको सेयर कारोबार ६० दिनसम्म भएन भने कारोबार स्थगित गरिन्छ । कारोबार बन्द भएको ६० दिनपछि पुनः सेयर कारोबार गर्नुपर्दा नेप्सेले कम्पनीको अवस्था हेरेर नयाँ मूल्य तोक्न सक्ने ब्यवस्था छ । कम्पनीको सेयर कारोबार बन्द भएको ६० दिनपछि अवस्था हेरर कम्पनीको दोस्रो बजारको नयाँ कारोबार मूल्य तय हुनेछ ।

बन्द भएयताको नयाँ कारोबारको लागी नेप्सेले पुनः नयाँ रेञ्ज तोक्नेछ । कति मूल्यबाट सेयर कारोबार सुचारु गर्ने भन्ने निर्णय भने कम्पनीको वासलात हेरेपछि तय गरिन्छ । धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम १५ मा मूल्य परिवर्तन सीमासम्बन्धी व्यवस्था छ । उक्त व्यवस्थाको (१) (ग) मा “लगातार ६० दिनसम्म कारोबार नभएमा धितोपत्रको पुनः कारोबार हुँदा कायम हुने सुरु मूल्य” उल्लेख छ ।

सोही नियमावलीले यसको स्पष्टिकरण दिँदै दफा १५ को (२) मा “उपनियम (१)मा जुनसुकै कारण लेखिएको भएतापनि सूचीकृत संगठित संस्थाले धितोपत्रको दाखिला खारेज बन्द गरेको अवस्थामा त्यस्तो दाखिला खारेज बन्द भएपछि हुने सुरु कारोबार र ६० दिनभन्दा बढी अवधिदेखि कुनै कारोबार नभएको सूचीकृत सङ्गठित संस्थाको धितोपत्रको कारोबारको हकमा धितोपत्र बजारले मूल्य परिवर्तन सीमा सम्बन्धमा फरक व्यवस्था गर्न सक्निेछ ।” सोही नियम बमोजिम उसले कारोबारको लागि नयाँ मूल्य पाउनेछ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का सूचना अधिकारी मुराहरि पराजुलिका अनुसार, यो सम्बन्धी हेर्ने छुट्टै शाखा छ । यस्तो अवस्थामा कम्पनीको नेटवर्थ हेरिन्छ, अर्थ मन्त्रालयको निर्देशन अनुसार ब्यालेन्ससिट हेरिन्छ, नेटवर्थ हेरिन्छ, पुरानो कारोबार मूल्य लगायत कम्पनीको आधारहरु हेरेर नयाँ मूल्य तोक्न सक्छ ।