१८ भदौ २०८३, बिहिबार

सिटिजन्स र तिनाउ मिसन बैंकको एकीकृत कारोबार शुरु, तिनाउ मिसनका शेयरधनीले १०० बराबर ९६ कित्ता शेयर पाउने



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजत प्राप्त, बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई नेपाल राष्ट्र बैंक तथा कम्पनी रजिष्ट्रारकोे कार्यालयको स्वीकृति पश्चात प्राप्ति गरी चैत्र १४ गतेबाट एकीकृत कारोबार शुभारम्भ गरेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडका सञ्चालक तथा उच्च व्यवस्थापनका कर्मचारीहरु सहभागी भएको एक विशेष समारोह बीच सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीले संयुक्त कारोबारको शुभारम्भ गर्नुृभयो ।

चैत्र १३ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेपछि निक्षेप करिव १२७ अर्ब रुपैयाँ पुग्नेछ भने ऋण लगानी करिव ११३ अर्ब रुपैयाँ पुग्नेछ । प्राप्ति पश्चात बैंकको कुल १६६ शाखा हुनेछ । सहमति अनुसार, तिनाउ मिसन डेभलपमेण्ट बैंकका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९६ कित्ता शेयर पाउनेछन् । सिटिजन्स बैंकको हालको चुक्ता पूँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ हुनेछ ।

उक्त कार्यक्रममा बोल्दै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीले यस प्राप्ति पश्चात बैंकको वित्तीय सूचकाङ्कहरु मानवश्रोत, प्राविधिक एवं अन्य क्षमता अभिवृिद्ध हुने कुरा व्यक्त गर्नुभयो । मर्जर र प्राप्तिबाट संख्या घटाउने नेपाल राष्ट्र बैंकको नीतिलाई सहयोग पुग्ने विश्वास र यस किसिमको प्राप्तिले देशको बैंकिङ्ग तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न मद्दत पुग्ने विश्वास अभिव्यक्त गर्नुभयो । प्राप्तिबाट तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडका ग्राहकहरुले अझ बढी स्तरीय र परिस्कृत वित्तीय सेवाहरु प्राप्ति पछि बनेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १६६ वटा शाखाहरुबाट प्राप्त गर्ने बताउनु भयो ।

त्यसैगरी साबिकको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष जीवन प्रसाद ओझाले तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडका ग्राहक, कर्मचारी र लगानीकर्ताहरुको हित र भविष्य सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडमा अझ बढी सुरक्षित र उज्वल हुने कुरा अभिव्यक्त गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडका संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक श्री प्रवल जंग पाण्डेले प्राप्ति पश्चात बैंकको प्रतिस्पर्धात्मक क्षमताको अभिबृद्धि हुने, बैंकको वित्तीय, मानव–संशाधनका साथै प्राविधिक एवं अन्य क्षमताको अभिवृद्धि भई ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ्ग सुविधा प्रदान गर्न सहज हुने कुरा व्यक्त गर्नुभयो ।