बीमा कम्पनी हकप्रद मार्फत पूँजी बढाउँदै, यी तीन कम्पनीले प्रक्रिया अघि बढाए - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बीमा कम्पनी हकप्रद मार्फत पूँजी बढाउँदै, यी तीन कम्पनीले प्रक्रिया अघि बढाए



काठमाडौं । पछिल्लो समय बीमा कम्पनीहरु हकप्रद सेयर निष्काशनमा सक्रिय देखिएपछि बीमा कम्पनीको सेयरमा सकारात्मक सर्किट लाग्न थालेको छ । बीमा कम्पनी आफ्नो पूँजी बढाउनको लागि हकप्रद सेयर निष्काशन गर्न सक्रिय देखिएका हुन् । ३ वटा कम्पनीले हकप्रद सेयर जारी गर्ने सूचना जारी गरेपछि लगानीकर्ताहरु अन्य बीमा कम्पनीले पनि हकप्रद सेयर निष्काशन गर्ने आशामा बीमामा आकर्षित भएका छन् ।

हालसम्म तीन वटा बीमा कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने तयारी गरिरहेका छन् । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड, अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड र आईएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशनका लागि प्रक्रिया अगाडी बढाएका हुन् । जसमा शिखर इन्स्योरेन्सले हकप्रद सेयर निष्काशनका लागि साधारण सभाले समेत पारित गरिसकेको छ, भने अजोड इन्स्योरेन्स र आईएमई जनरल इन्स्योरेन्सले हकप्रद निष्काशन गर्न साधारण सभामा प्रस्ताव अघि सारेका छन् ।

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको चैत्र ९ गते सम्पन्न भएको साभारण सभाले बोनस सेयर पश्चात कायम हुने पुँजीको थप ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले यसअघि गत साउनमा पनि ३० प्रतिशत हकप्रद सेयर बिक्री गरेर चुक्ता पूँजी १ अर्ब ३६ करोड रुपैयाँ पुगेको थियो । कम्पनीले सेयरधनिलाई पूँजीको २७.७६ प्रतिशत बोनस वितरण गरेसँगै चुक्ता पूँजी १ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । कम्पनीले हाल कायम रहेको पूँजीको ३० प्रतिशत हकप्रद निष्कासन गरेर २ अर्ब २५ करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउने छ ।

त्यसैगरि, अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले पनि हाल कायम चुक्ता पूँजी १ अर्ब रुपैयाँको ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्तावसहित वैशाख ७ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्काशनपश्चात चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँ पुर्याउने छ ।

त्यसैगरि, आईएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले पनि हाल कायम चुक्ता पूँजी १ अर्ब ८ करोड १८ लाख ३६ हजार रुपैयाँको ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्तावसहित वैशाख १२ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सेयरधनिलाई ७ प्रतिशत बोनस वितरण गरेपछि चुक्ता पूँजी १ अर्ब १५ करोड ७६ लाख ६४ हजार रुपैयाँ पुग्ने छ । सोही पूँजीको ४० प्रतिशत हकप्रद निष्काशनपश्चात चुक्ता पूँजी १ अर्ब ६२ करोड ६ लाख ९० हजार रुपैयाँ पुर्याउनेछ ।


प्रतिक्रिया दिनुहोस्