नुवाकोटका तीन युवाले सेन्सरयुक्त ह्याण्ड स्यानिटाइजर मेसिन बनाए
नुवाकोट । कोरोनाभाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न प्रशासनले जारी गरेको लकडाउनकै बीच नुवाकोटका तीन युवाले सेन्सरयुक्त ह्याण्ड स्यानिटाइजर मेसिन बनाएका छन् ।
नुवाकोट साईन्स क्लबका काजी खान, इञ्जिनियर द्वय नरेश्वर पाण्डे र यशराज खड्काले लकडाउनकै बीच उक्त मेसिन निर्माणा गरेका हुन् ।
माईक्रो कन्ट्रोलर सर्किटको प्रयोग गरिएको मेसिनमा दुई लिटर क्षमताको कन्टेनर रहेको उक्त सेन्सरयुक्त ह्याण्ड सेनिटाइजर मेसिनबाट प्रति तीन सेकेन्ड एक मिलिलिटर स्यानिटाइजर प्रवाह हुने काजी खानले बताए । ‘सेन्सरयुक्त भएकाले मेसिनमा हात राखेको तीन सेकेण्डमा स्यानिटाइज निस्कन्छ र बन्द हुन्छ’, उनले भने ‘मेसिनको परीक्षण पूर्ण रुपमा सफल भईसकेको छ । बजारको माग रहे उद्योग नै स्थापना गरी व्यवसायिक रुपमा सेन्सरयुक्त ह्याण्ड स्यानिटाइजर मेसिन उत्पादन गर्ने छौँ । सम्भवतः सरकारी कार्यालय र स्थानीय तहका कार्यालयले मात्र हाम्रो उत्पादनलाई लिए नुवाकोट जिल्लामा विज्ञान तथा प्रविधिले उचित स्थान पाउने छ ।’
नुवाकोट साईन्स क्लबमा आबद्ध रहेका युवाहरुले यस अघि नुवाकोटका महोत्सव, विद्यालय तथा अन्य कार्यक्रमहरुमा विज्ञान प्रदर्शनी तथा विभिन्न गतिविधि गर्दै आईरहेका छन् । यस मेसिनको साथै स्वचालित गृह कन्ट्रोल मेसिन, अटोमेटिक वाटर ट्यांक कन्ट्रोल प्रणाली लगायतका उत्पादनहरु बजारमा रहेको छ ।













