२४ भदौ २०८३, बुधबार

स्वास्थ्य संकटकाल घोषणा गर्दै सरकार



काठमाडौं । सरकारले स्वास्थ्य संकटकाल लगाउने तयारी गरिरहेको छ । कोरोना संक्रमण दर बढिरहेकाले स्वास्थ्य संकटकालको निर्णय गर्न मन्त्रीपरिषद् सिफारिस गरिएको छ । तर मन्त्रीपरिषद्ले भने निर्णय गर्न बाँकि रहेको छ ।

पछिल्लो समय कोरोना भाइरस संक्रमण दर दैनिक रुपमा बढ्दै गईरहेको छ । संक्रमण र मर्नेको संख्यामा दैनिक नयाँ–नयाँ रेकर्ड हुँदै गएको छ । यसका लागि देशका अधिंकांश जिल्लामा निषेधाज्ञा लगाइएको छ । तर पनि कोरोना संक्रमणमा कुनै कमी आएको छैन ।

कोरोना संक्रमण नियन्त्रण बाहिर गएपछि केहि समयका लागि स्वास्थ्य संकटकाल लगाउन स्वास्थ्य विज्ञहरुले दवाव दिने गरेका छन् । अस्पतालमा बीरामी राख्ने ठाउँ समेत अभाव भएपछि स्वास्थ्य संकटकाल लगाउने तयारी सरकारले गरिरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले कोभिड–१९ को रोकथाम हाल जारी गरिएको निषेधाज्ञाले मात्रै सम्भव नभएकाले स्वास्थ्य संकटकाल वा बन्दाबन्दी आवश्यक रहेको निष्कर्षसहित सो सम्बन्धी निर्णय गर्न मन्त्रिपरिषदमा सिफारिस गरिसकेको जानकारी दिएका छन् ।

उनका अनुसार सो सम्बन्धमा सामूहिक निर्णय आवश्यक छ, अहिलेको अवस्थामा दोस्रो लहरको सङ्क्रमण यही गतिमा बढे सरकारसंँग भएका सघन उपचार कक्ष, हाइ डिपेन्डेन्सी युनिट र भेन्टिलेटरले थेग्न नसक्ने अवस्थामा छ । दैनिक रुपमा कोरोना संक्रमित बढ्दै गएकाले सबैलाई सचेत रहन उनले आग्रह गरेका छन् ।