चाडपर्व लगत्तै सरकार ढाल्ने चर्चा, देशलाई भूराजनीतिक जोखिममा नपार्न बाबुरामको चेतावनी
प्रमुख चाडपर्व समाप्त हुनासाथ सरकार ढाल्ने र आन्दोलनको दाउपेचमार्फत अस्थिरता सिर्जना गर्ने प्रवृत्तिले मुलुकलाई गम्भीर आर्थिक तथा भूराजनीतिक संकटतर्फ धकल्ने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बताए।
काठमाडाैँ । प्रमुख राष्ट्रिय चाडपर्वहरू सकिनासाथ मुलुकमा आन्दोलनको आँधीबेहरी ल्याउने र सरकार परिवर्तनको खेल सुरु हुने परिदृश्यप्रति पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।
उन्नत बहुदलीय लोकतन्त्रमा सत्ता पक्ष र प्रतिपक्षीबीच संसद्देखि सडकमा हुने आलोचना र प्रतिस्पर्धालाई स्वाभाविक माने पनि निर्वाचन सम्पन्न भएको छोटो समयमै सरकार ढाल्ने कसरत सुरु हुनु दुर्भाग्यपूर्ण भएको उनले उल्लेख गरे।
विगतमा देशले भोगिसकेका दुष्परिणामबाट पाठ नसिकी फेरि पनि सरकार फेरबदलको खेलमा लाग्नु मुलुकलाई अनिश्चितताको अन्धकार सुरुङमा फसाउनु सरह भएको भट्टराईको तर्क छ। यस किसिमको अराजनीतिक दाउपेचले अर्थतन्त्रलाई पातालतिर धसाउने, रोजगारीका लागि देशका युवाहरूलाई विदेशिन बाध्य पार्ने र अभिभावकहरूको जीवन कष्टकर बनाउने चेतावनी उनले दिए।
नेपालजस्तो संवेदनशील मुलुकलाई मडारिँदो भूराजनीतिक आँधीबेहरीको जोखिममा होमिन दिनु केवल अल्पदृष्टि र अदूरदर्शिता बाहेक केही नहुने उनले प्रष्ट पारे।
देश र जनताप्रति उत्तरदायी बन्न सबै नागरिकलाई आग्रह गर्दै भट्टराईले सत्तामा रहेकाहरूको कार्यशैलीमाथि निरन्तर निगरानी राख्नुपर्ने बताए। विपत्तिमा परेका, ऐतिहासिक रूपमा वञ्चितीकरणमा परेका तथा सीमान्तकृत जनताको आवाज सत्ताको केन्द्रसम्म घन्कनुपर्ने उनको धारणा छ।
यदि सत्तामा बस्नेहरूले जनभावनालाई बेवास्ता गरेमा उनीहरूलाई विधिसम्मत ढङ्गले दण्डित गर्न वा सत्ताबाट हटाउन सकिने उनले औंल्याए। तर, संविधानको परिधिभित्र रहेर सञ्चालन भएको निर्वाचित सरकारलाई आफ्नो पूरा अवधि काम गर्न दिनुपर्नेमा जोड दिँदै उनले सरकारको कार्यसम्पादन चित्तबुझ्दो नभएमा आगामी निर्वाचनबाटै बिदा गर्नुपर्ने स्पष्ट पारे।















