विपक्षि नेताले बजेटको बैधानिकतामा प्रश्न उठाएपछि अर्थमन्त्रीले गरे खण्डन
सरकारले हिजो अध्यादेशमार्फत जारी गरेको बजेटको बैधानिकता नभएको भन्दै विपक्षि दलका नेताहरुले वक्तव्य निकालेपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कडा शब्दमा खण्डन गरेका छन् । बजेटपछिको पत्रकार सम्मेलनमा बोल्दै उनले कुनै नेताले एक ठाउँमा बसेर बक्तव्य निकालेको भरमा सरकारको बैधानिकता खण्डित नहुने बताए ।
‘केही नेताहरु कुनै ठाउँमा बसेर कुनै बक्तव्य निकाल्नुले यो सरकारको बैधानिकतामा कुनै असर गर्दैन’, उनले भने । मन्त्री पौडेलले मतदातालाई प्रभावित पार्नका नभइ सरकारले आफ्नो अभिभारा पुरा गर्नका निम्ति यो बजेट ल्याएको प्रस्टिकरण दिए । ‘यो सरकार जनताप्रति जवाफदेही छ । राष्ट्रप्रति सरकारको जिम्मेवारी पुरा गर्नका लागि यो बजेट ल्याइएको हो’, उनले भने, ‘यो बजेट ल्याउँदा मतदातामा के प्रभाव पर्छ भन्ने सरकारले हेर्दैन ।’
जनतामा सरकारप्रतिको सकारात्मक प्रभाव पुग्छ भनेर जनताप्रतिको जिम्मेवारीबाट सरकार पञ्छिनु पर्छ भन्ने कोणमा विपक्षिले विरोध गरेको उनले सुनाए । ‘सरकारले राम्रा काम र कार्यक्रम अघि सार्नु हुँदैन भन्ने कोणबाट टिप्पणी भएको छ’, उनले भने, ‘म यस्ता टिप्पणीलाई कुनै जवाफ दिनुपर्छ भन्ने ठान्दिन ।’
उनले सरकार र बजेटको बैधानिकताबारे चारवटा आधार प्रस्तुत गरे ।
उनको दाबी यस्ताे छः
१. हामी संवैधानिक प्रक्रियालाई उछिनेर सरकारमा आएका होइनौं ।
२. यो सरकारलाई प्राप्त भएको जनादेश कुनै तरिकाले खण्डित भएको छैन ।
३. यो सरकारमा रहेको दललाई पनि जनतामा जान र जनताको विस्वास जित्ने अधिकार छ ।
४. सरकारलाई स्थिरता र निरन्तरतामा बुझ्नुपर्छ । भोलि अर्को सरकार आयो भने पनि यही बजेटमा चल्छ ।













