२७ श्रावण २०८३, बुधबार

राष्ट्र बैंकले यो वर्ष ‘राहत ऋण’ नदिने संकेत, गभर्नरले भने, ‘भीर सेप’मा अर्थतन्त्र बढ्छ’



काठमाडौं । गत वर्ष नेपाल राष्ट्र बैंकले कोरोना प्रभावित उद्योग व्यवसायलाई १० देखि २० प्रतिशतसम्म थप कर्जा दिएर व्यवसायिक निरन्तारतामा सघाएको थियो । तर अब आउने मौद्रिक नीतिले यस्तो सुविधा नदिने संकेत गभर्नर महाप्रसाद अधिकारीले गरिसकेका छन् ।

हिजो अर्थ मन्त्रालयले आयोजना गरेको बजेटपछिको छलफलमा गभर्नर अधिकारीले गत साल राष्ट्र बैंकले अतिरिक्त कर्जा दिएका कारण सरकारको व्यवसायिक निरन्तरता कर्जा खपत नभएको बताए । ‘५० अर्बको व्यवसायिक निरन्तरता कर्जा योजनाले यो वर्ष गति लिने देखिन्छ,’ उनले भने, ‘गतसाल राष्ट्र बैंकबाट १० र २० प्रतिशत थप कर्जा लिन पाउने व्यवस्था मौद्रिक नीतिबाट गरिएकाले यसको लाभ त्यही नीतिबाट प्राप्त भएको थियो ।’

आउने वर्ष घरेलु, साना तथा मझौला उद्यमले व्यवसायिक निरन्तरता कर्जाको बढी उपयोग गर्ने गभर्नरले बताए । यसको अर्थ राष्ट्र बैंकले परिमाणात्मक खुकुलोपनाको कार्यनीतिलाई अर्को वर्ष यही हदमा जारी नराख्ने संभावना बढेको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक डा गुणाकर भट्टले पनि केही दिन अघि सरकारले बजेटबाटै राहतका प्याकेज ल्याउनुपर्ने बताएका थिए ।

यसका साथै सरकारले सहुलियतपूणर् कर्जाका लागि १३ अर्ब रुपैयाँ बजेट व्यवस्था गरेको छ । गतसालकै बजेटलाई निरन्तरता दिइएको यो कार्यक्रमबाट बजारमा २ खर्ब ७० अर्ब रुपैयाँ बराबरको ऋण विस्तार गर्न सकिने गभर्नर अधिकारीले बताए । ‘त्यसबाट पनि धेरै साना तथा मझौला उद्यमले फाइदा लिनुहुने छ,’ उनले भने ।

सरकारले सकेसम्म चाँडो खोप लगाउने कार्यक्रम सम्पन्न गर्ने भनेपछि गभर्नरले अर्थतन्त्रको पुनरुत्थान पनि चाँडै हुने तर्क गरे । ‘गएको वर्ष पनि हामी कात्तिकसम्म बैंकको कर्जा गएन, आर्थिक गविधिी भएन भनिरहेका थियौं’, उनले भने, ‘तर चैतसम्म आउँदा ७ खर्ब रुपैयाँ थप कर्जा प्रवाह भएको छ ।’

अर्थतन्त्रको यो रफ्तारका कारण चाँडै पुनरुत्थान हुनेमा आफू आशाबादी रहेको उनेले बताए । ‘हाम्रो ग्रोथ (आर्थिक बृद्धि) भी सेप होइन, भीर सेपमा अर्थात् पुरै ठाडो आकारको बृद्धि पनि हुन सक्छ ।’ उच्च बृद्धिदर भइरहेको बेला एक्कासी बृद्धिदर घट्यो र फेरी पुरनौ अवस्थामा भर्कियो भने त्यसलाई अर्थशास्त्रमा ‘भी सेप’ अर्थात् अंग्रेजी अक्षर ‘भी’को आकृतिमा हुने बृद्धि भनिन्छ ।

यस्ता महामारी वा ठूला आपतकालिन संकटको समयमा अर्थतन्त्रको लय यस रुपमा देखा पनेए गरेको छ । अहिले पनि संसारका धेरै मुलुकको बृद्धि यही रुपमा देखिने प्रक्षपण गरिएको छ । गभर्नर अधिकारीले पनि अन्तरराष्ट्रिय रुपमा समेत त्यस्तै परिदृष्य देखिएको बताए । ‘हामीले भारतलाई नै हेर्ने हो भने पनि गतसाल ८ प्रतिशत घटेको त्यहाँको अर्थतन्त्र यो वर्ष साढे १२ प्रतिशत बढ्ने आईएमएफले प्रक्षपण गरेको छ,’ उनले भने ।