बैंकमा पौने २ अर्ब तरलता बढाइदिने राष्ट्र बैंकको तयारी, पेन्सन कोषको पैसा एक वर्षे मुद्दति निक्षेपमा राख्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा पौने २ अर्ब रुपैयाँ तरलता बढाइदिने भएको छ । केन्द्रिय बैंकले कर्मचारी उपदान तथा पेन्सन कोषको १ अर्ब ७८ करोड रुपैयाँ एक वर्षे मुद्दति निक्षेपमा राखिदिने भएको हो ।
यसका लागि राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई प्रस्ताव पेश गर्न भनेको छ । केन्द्रिय बैंकले यस्तो पैसा बोलकबोलबाट तय हुने ब्याजदरमा राख्ने गरेको छ । राष्ट्र बैंकको पैसा लिँदा बैंक तथा वित्तीय संस्थाले बीचमा ब्याजदर थपघट गर्न पाउने छैनन् । केन्द्रिय बैंकले आगामी मंगलवारसम्म यससम्बन्धी प्रस्ताव राष्ट्र बैंकमा पेश गरिसक्न बैंक तथा वित्तीय संस्थालाई भनेको छ ।
उक्त रकममध्ये बाणिज्य बैंकहरुले १ अर्ब ४२ करोड ४० लाख, विकास बैंकहरुले २६ करोड ७० लाख र वित्त (फाइनान्स) कम्पनीले ८ करोड ९० लाख रुपैयाँ पाउने छन् । तीनै वर्गका बैंक वित्तीय संस्थाले निर्धारित रकमका लागि बोलपत्र पेश गर्नु पर्ने छ ।
राष्ट्र बैंकसँग यस्तो निक्षेप लिनका लागि न्यूनतम पूँजीकोष कायम भएको, खुद तरलता कम्तिमा २० प्रतिशत भएको, अघिल्लो आर्थिक वर्षमा सञ्चालन मुनाफामा रहेको र सञ्चालन तथा सीईओमध्ये कसैलाई राष्ट्र बैंकले जरिवाना गरेको रहेछ भने त्यस्तो जरिवाना तिरेको ६ महिना नाघिसकेका संस्थालेमात्रै भाग लिन पाउने छन् ।













