लुम्बिनीमा पारित होला नीति तथा कार्यक्रम ? सरकार र विपक्षी आ-आफ्नै दाउमा
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आज साँझ ४ बजे प्रदेश सभावमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बताएपछि विपक्षी गठबन्धनले त्यसलाई ‘पारित हुन नदिने’ भनेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतको विपक्षी गठबन्धनले आफूहरुसँग बहुमत रहेको भन्दै मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविस्वासको प्रस्ताव दर्ता गराइसकेको छ ।
विपक्षी दलहरूले प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट पारित हुन नदिने रणनीति बनाएका हुन् । यसअघि नै आफूविरुद्ध अविस्वासको प्रस्तावमा मतदान हुने भएपछि मुख्यमन्त्री पोखरेलले राजिनामा दिएर उही दिन पुनः मुख्यमन्त्रीको सपथ लिएका थिए ।
तर, विपक्षी गठबन्धनले बहुमत आफूसँग रहेको र पोखरेल अल्पमतमा भएको बताउँदै आएका छन् । प्रदेश सभामा पुनः अविश्वास प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री पोखरेलले संसदको अधिवेशन नै अन्त्य गरिदिएका थिए ।
लुम्बिनीमा सरकारले कोरोना महामारी केन्द्रित ३९ अर्ब रुपैयाँ हाराहारीको बजेट पस्तुत गर्न लागेको बताइएको छ । उक्त बजेटमार्फत् कृषि, उद्योग एवं पर्यटन क्षेत्रलाई समेटेर आर्थिक विकासमा टेवा पुर्याउँदै महामारीको असरबाट प्रादेशिक अर्थतन्त्रलाई बाहिर निकाल्ने प्रयास गर्न लागिएको सरकारी अधिकारीले जनाएका छन् ।













