गण्डकीमा विपक्षी गठबन्धनलाई बहुमत, कांग्रेसका कृष्णचन्द्र मुख्यमन्त्रीकाे उमेदवार
काठमाडौं । राष्ट्रिय जनमोर्चाले आफ्ना प्रदेश सांसद कृष्ण थापाको सांसद पद खोसेसँगै अब गण्डकीमा विपक्षी गठबन्धनलाई बहुमत जुटेको छ । विहीवार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विस्वासको मत लिने क्रममा थापा तटस्थ बसेको भन्दै जनमोर्चाले उनको सांसद पद खोसेको हो ।
जनमोर्चाको संसदीय दलको सचेतक पियारी थापाले विस्वासको मतको विपक्षमा मतदान गर्न, तटस्थ नबस्न र अनुपस्थित नहुन आफ्ना सांसदलाई ह्वीप जारी गरेकी थिइन् । थापाले ह्वीप उल्लंघन गरेको भन्दै दलले उनलाई सांसदबाट हटाएको हो । सचेतकको सिफारिशमा प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले थापा पदमुक्त भएको घोषणा गरेका छन् ।
यसअघि ६० सदस्यीय रहेको गण्डकीको प्रदेश सभा अब ५९ सदस्यीय भएको छ । यससँगै अब ३० जना सांसदको समर्थन पाए बहुमत जुट्ने अबस्था बनेको छ । हिजो भएको मतदानमा स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) अनुपस्थित रहँदासमेत मुख्यमन्त्री गुरुङको विपक्षमा ३० मत खसेको थियो ।
संसदमा सबैभन्दा ठूलो दलको नेताको रुपमा मुख्यमन्त्री बनेका गुरूङले विस्वासको मत प्राप्त गर्न नसकेपछि अब नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा आफ्नो दाबेदारी प्रस्तुत गर्ने भएका हुन् ।
नेपालीलाई कांग्रेसको १५, नेकपा (माओवादी केन्द्र)को ११, राष्ट्रिय जनमोर्चाको २ र जनता समाजबादी पार्टी (जसपा)को २ सांसदको समर्थन छ । सभामुख माओबादी केन्द्रकै सांसद छन् भने स्वतन्त्र सांसद मनाङेले पनि कांग्रेस नेतृत्वको सरकारलाई साथ दिनसक्ने बताइएको छ । उनले हिजै मन्त्री पदबाट राजिनामा दिएर विपक्षी गठबन्धनलाई सहयोग गर्ने बताइसकेका छन् ।













