उपत्यकामा थपियो एक साता निषेधाज्ञा, अब हार्डवयर र पुस्तक पसल खोल्न पाइने
काठमाडौं । असारको पहिलो साता पनि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी रहने भएको छ । यसअघि जेठ मसान्तसम्मात्रै निषेधाज्ञा गर्ने निणर्य भएको थियो । उपत्यकामा १६ वैशाखदेखि सुरु भएको निषेधाज्ञा झण्डै ८ सातासम्म कायम रहने निश्चित भएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले असार १ देखि ७ गतेसम्म निषेधाज्ञा थप्ने निणर्य गरेको हो । कोरोना भाइरस महामारीको असर अपेक्षित स्तरमा नघटेको भन्दै निषेधाज्ञा थप्ने निणर्य भएको छ ।
तर, निषेधाज्ञालाई पहिलेभन्दा खुकुलो बनाउन लागिएको छ । अब खाद्यान्न र फलफूल तथा तरकारी बजार विहान ११ बजेसम्म खोल्न पाइने छ । अनलाइन कारोबारका सामानको होम डेलिभरी दिने सेवा पनि सुचारु गर्न पाइने भएको छ । विहान ११ बजेसम्म पुस्तक पसल पनि खोल्न पाइने छ ।
त्यस्तै निर्माण कार्यलाई पुनः सुचारु गरिने, साँझ ४ बजेपछि निर्माण सामाग्री तथा हार्डवयरका पसलहरु खोल्न पाइने भएको छ । कृषिसम्बन्धी मल र बिउविजन तथा विषादि पसलहरु खोल्न पनि सहजिकरण हुने छ । त्यस्तै अध्यागमन र विदेश जान भिसा लिनका लागि पनि यात्रा गर्न पाइने भएको छ ।
असारदेखि कम्तिमा जोरविजोर प्रणालीमा यातायात सुचारु गर्ने भनिए पनि जोखिमको स्तर धेरै नघटेको भन्दै हाललाई यातायात खुल्ला नगर्ने निणर्य भएको छ ।















