२६ श्रावण २०८३, मंगलबार

पुरानै लयमा फर्कँदै रेमिट्यान्सको बृद्धि, किन बढ्दै छ तथ्यांक ?



काठमाडौं । गत वैशाखमा प्रवासी कामदारले नेपाल पठाएको र विप्रेषण (रेमिट्यान्स)को बृद्धिदर १९.२ प्रतिशत पुग्यो । कोरोना महामारीको पहिलो लहर मत्थर भएसँगै गत साउनमा बढेको तथ्यांकलाई छनड्ने हो भने यो बृद्धिदर दुई वर्षयताकै उच्च हो । २०७६ वैशाखमा रेमिट्यान्सको बृद्धिदर १९.६ प्रतिशत थियो ।

पछिल्ला तीन वर्षयता नेपालमा भित्रने रेमिट्यान्सको बृद्धिदर खुम्चँदै गएपछि यसले आफ्नो चरम सीमा (स्याचुरेशन) पार गरेको विश्लेषण हुन थालेका थियो । तर पछिल्ला तथ्यांकले पुनः रेमिट्यान्सको बृद्धिदर उकालो लाग्न थालेको देखाएका छन् । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको प्रतिवेदनले विप्रेषण आयको अवस्था पुनः पुरानै लयमा फर्कन थालेको देखाएको छ ।

राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको एक प्रतिवेदनका अनुसार गत वैशाखसम्म नेपाल भित्रिने रेमिट्यान्स गत सालको भन्दा १९.२ प्रतिशत बढेर ८ खर्ब ९ अर्ब ८९ करोड पुगेको छ । गतसाल भने रेमिट्यान्स आय ६.३ प्रतिशत घटेको थियो ।

पोहोर चैत वैशाखको समयमा खाडी मुलुक तथा युरोप र अमेरिकामा पनि कोरोना महामारीका कारण अधिकांश नेपालीले आंशिक वा पूणर् रुपमा रोजगारी गुमाउनु परेको थियो । जापान, अस्ट्रेलियामात्र होइन, भारतमा ज्यालादारी गर्ने नेपाली श्रमिकले पनि आम्दानी गुमाएका थिए । यस वर्ष पनि कोरोना महामारीको दोस्रो लहर आएको छ । तर यसले विश्व अर्थतन्त्रलाई पोहोरजसरी प्रभावित पारेको छैन ।

बरु कतिपय विकसित अर्थतन्त्रमा यो वर्ष भारी बृद्धि देखिएको छ । यसले नेपाल भित्रिने रेमिट्यान्स आयको बृद्धि गराउन सहयोग पुगेको छ । अमेरिकी डलरमा भने नेपाल भित्रिने रेमिट्यान्सको बृद्धिदर १६.१ प्रतिशत छ । नेपाली रुपैयाँका तुलनामा डलर अझै पनि महँगिँदै गएकाले डलरको हिसाबमा बृद्धिदर कम देखिएको हो ।

यसका साथै भन्सार विन्दुमा भएको कडाई र सुनको चुलिँदो भाउका कारण विप्रेषण रकमको गैह्रकानूनी कारोबार घटेको राष्ट्र बैंकका अधिकारीको अनुमान छ । ‘नेपालमा सुन तस्करीका लागि विप्रेषणको लगत प्रयोग हुँदै आएको थियो’, ती अधिकारी भन्छन्, ‘अहिले सुन धेरै महँगिएपछि यसको आयात कम भएको छ । यसले हुण्डिको कारोबार घटाएको हुनसक्छ ।’ जसको असर औपचारिक माध्यमबाट प्राप्त हुने रेमिट्यान्समा परेको उनले बताए ।

यस अवधिमा श्रम स्वीकृति लिएर विदेश जानेको संख्या भने उच्च दरले घटेको छ । पछिल्ला १० महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या ६०.३ प्रतिशत र पुनः श्रमस्वीकृति लिनेको संख्या ४९ प्रतिशत घटेको राष्ट्र बैंकले उल्लेख गरेको छ । श्रम स्वीकृति लिएर विदेश जानेको संख्या घटे पनि अध्ययन र भ्रमण भिसामा विकसित मुलुक पुगेका नेपालीले पठाउने रेमिट्यान्सको आकार बढ्दै गएको अधिकारीहरुले बताएका छन् ।