खुकुलोसहित आजदेखि उपत्यकामा थप ७ दिन निषेधाज्ञा, के–के खुला गर्न पाईन्छ ?
काठमाण्डौ । कोरोना संक्रमण बढेसँगै बैशाख १६ गतेदेखि काठमाण्डौ उपत्यकामा लागू भएको निषेधाज्ञा केही क्षेत्र खोल्दै ७ दिन थप गरिएको छ । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले लकडाउनको मोडलमा परिवर्तन गर्दै निषेधाज्ञा ७ दिन थप गर्दै असार ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।
आज असार १ गतेदेखि उपत्यकामा प्रशासन कार्यालय खोल्न पाइने क्षेत्रहरु समेत तोकेको छ । कृषि क्षेत्रका गतिविधिहरु, वैदेशिक अध्ययन वा इडीभीका कारण विदेशमा जानुपर्ने व्यक्तिहरुका लागि कुटनीति नियोग तथा अन्य निकायबाट हुने भिसा प्रक्रियाका कार्यहरु संचालन गर्न दिइनेछ । कुटनीति नियोगले आवश्यक परीक्षा र अन्तर्वार्ता समेत लिन पाउने भएका छन् ।
औषधि तथा स्वास्थ्य उपकरण, कृषि मल, बिउ तथा खाद्यान्न सामाग्री ढुवानी गर्दाको समयमा मात्र स्वास्थ्य मापदण्ड पालना गरी यातायातका साधानहरु संचालन गर्न पाउने छन् ।
यसअघि बिहान ९ बजेसम्म मात्र खोल्न पाइने निर्णयलाई परिवर्तन गरि तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्यास पसल, किराना पसल र डिपार्टमेन्टल स्टोर बिहान ११ बजेसम्म खोल्न पाइनेछ ।
ढुवानीको हकमा राति ९ बजेदेखि बिहान ११ बजेसम्म छुट, पुस्तक पसल र प्रिन्टिङ प्रेस समेत बिहान ११ बजेसम्म संचालन गर्न पाइनेछ । विकास निर्माणजन्य सामाग्रीका पसल दिउँसो ४ बजेपछि खोल्न पाएनेछ ।
अत्यावश्यक वस्तुहरुको अनलाइन तथा टेक अवे सेवा होम डेलिभरी प्रयोजनका लागि काठमाण्डौ उपत्यकाभित्र मात्र साँझ ७ बजेसम्म खोल्न पाइने छ । वर्कसपहरु राति ९ बजेसम्म मात्र संचालन गर्न पाइनेछ ।













