सबै व्यवसायीलाई कोभीड खोप उपलब्ध गराउन चेम्वरको आग्रह
काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले मुलुकभरका सबै उद्योगी एवम् व्यवसायिलाई कोभीड १९ विरुद्धको खोप चाँडो उपलब्ध गराउन आग्रह गरेको छ । सरकारले ६० वर्षभन्दा माथिका नागरिकलाईमात्रै खोप दिने भने पनि उक्त उमेर समूहका सबैले खोप पाउन नसक्ने भएका बेला चेम्बरले यस्तो माग अघि सारेको हो ।
चेम्बरले दोस्रो लहरको कोरोना महामारीका कारण उद्योग व्यापार निकै प्रभावित भएको बताएको छ । व्यवसायीले नै सुरक्षाको प्रत्याभूति पाउन नसके उद्योगधन्दा सञ्चालनमा समस्या आउने चेम्बरको भनाइ छ । ‘समयमै कोरोना बिरुद्धको खोप उपलब्ध नभएकोले अग्रपंक्तीमा कार्यरत व्यवसायिको आत्मवलमा ह्रास आएको छ’, चेम्बरले विज्ञप्तीमार्फत् भनेको छ ।
उद्योग तथा व्यवसाय सञ्चालनका लागि अग्रपंक्तीमा रही कार्यरत हुनु पर्ने भएकोले समग्र निजी क्षेत्र, जोखिमयुक्त वर्गमा पर्ने विज्ञप्तीमा भनिएको छ । नेपाल चेम्वर अफ कमर्सका पदाधिकारी तथा सदस्य ,चेम्वरसँग आवद्ध रहेका वस्तुगत संघ, आवद्ध संघ, द्धिराष्ट्रिय व्यापार संघ, प्रदेश, जिल्ला तथा नगर स्तरीय चेम्वर अफ कमर्सका पदाधिकारी तथा सदस्यहरु, चेम्वर अन्तरगत गठित केन्द्र तथा जिल्ला अन्तरगत गठित महिला चेम्वरका पदाधिकारी तथा सदस्यहरु तथा चेम्वर अन्तरगतका समस्त किराना व्यवसायीलाई खोप लगाउन माग गरिएको विज्ञप्तीमा उल्लेख छ ।















