२६ श्रावण २०८३, मंगलबार

कृषि र होटेलको नाममा ऋण लिँदै जग्गा किन्दै, राष्ट्र बैंकले थाल्यो अनुसन्धान



काठमाडौं । नेपालको होटेल व्यवसाय १५ महिनायता ठप्पप्रायः छ । कोरोना महामारीका कारण अघिल्लो साल चैतबाट बन्द भएका होटेलहरु सञ्चालनमा आउन सकेका छैनन् । बीचमा बन्दाबन्दी हटेसँगै होटेलको फाट्टफुट्ट ब्यापार भए पनि न त विदेशी पर्यटक आए, न पाहिलेजस्तो सभा सम्मेलन र उत्सव मनाउन होटेल धाउने परीपाटी विकास हुन पायो ।

मान्छेहरु विस्तारै बाहिर निस्कन थालेलगत्तै पुनः महामारीको दोस्रो लहरले सताए पनि यो आथिर्एक वर्षमा होटेल तथा पर्यटन क्षेत्रको नाममा २५ अर्ब ७३ करोड रुपैयाँ बैंकको ऋण थपिएको छ । यो पनि गएको वैशाख मसान्तको तथ्यांक हो । जेठमा होटेलको नाममा थप ऋण विस्तार भएको राष्ट्र बैंकका अधिकारीहरुले बताएका छन् ।

राष्ट्र बैंकका अधिकारीहरुका अनुसार यसरी होटेलका नाममा बढेको ऋण अहिले जग्गा किन्नमा खर्च भइरहेको पाइएको छ । एक बैैंकरका अनुसार हिजो राष्ट्र बैंकले आगामी मौद्रिक नीतिबारे छलफल गर्न डाकेको बैठकमा पनि अधिकारीहरुले यसबारे चर्चा गरेका थिए । ‘विकृति बढेको पाइएको छ, तपाइँहरु कसरी नियन्त्रण गर्नुहुन्छ, भन्ने कुरा आएको थियो’ एक बैंकरले भने ।

महामारीकै समयमा सबै उद्योगधन्दा र व्यवसाय पूणर् रुपमा चल्न नपाउँदै बैंकहरुले भएभरको पैसा ऋण लगानी गरेर सिध्याएपछि राष्ट्र बैंकलाई भावि मौद्रिक नीतिमा वित्तीय स्थायित्व जोगाउने चूनौति थपिएको छ । यही कारण राष्ट्र बैंकले कर्जाको गुणस्तर मापन गर्ने प्रक्रिया थालेको अधिकारीहरु बताउँछन् । केही दिनअघि राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थासँग ५० लाख रुपैयाँभन्दा बढी ऋण लिने ग्राहकको सू्रची माग गरेको थियो ।

यस्तो सूची राष्ट्र बैंकले पहिले प्रकाशित नै गर्ने गरेको भए पनि पछिल्ला वर्षमा भने बैंकरहरुले त्यसरी सूची बनाएर प्रस्तुत गर्न छाडेका थिए । तर त्यसरी गरिएको अध्ययनमा कर्जाको गलत प्रयोग भएको देखिन थालेपछि २५ लाखभन्दा बढी ऋण लिने सबै ग्राहकको विवरण राष्ट्र बैंकले मागेको छ । यसले ठूला कर्पोरेट घरानालाई ‘गेम्बलिङ’ अर्थात् ‘जे पर्छ पर्छ’ भन्ने तरिकाले लगानी गरेका बैंकहरु समस्यामा देखिएको अन्य बैंकर बताउँछन् ।

बैंकरका अनुसार पछिल्लो समय होटेलभन्दा कृषिको नाममा ऋण लिएर जग्गा किन्न खर्चने प्रबृत्ती ह्वात्तै बढेको छ । हुन पनि राष्टङ बैंैकको तथ्यांकले उक्त भनाइको विस्वसनीयता बढाउन सहयोग गर्छ । पछिल्लो १० महिनामा कृषि क्षेत्रमा बैंकहरुको लगानी ८६ अर्ब ५३ करोड रुपैयाँ बढेको छ ।

यो गत असार मसान्तको तुलनामा १३८ प्रतिशतभन्दा बढी हो । यति ठूलो लगानी कृषिमा कहाँ र कसरी बृद्धि भयो ? यसले उत्पादनमा के कति असर गर्‍यो भन्ने तथ्यांक पुरक तथ्यांकहरु चित्तबुझ्दो नभएको अर्थविदहरु बताउँछन् । बैंकले सहुलियत ब्याजमा प्राप्त हुने कर्जा कृषि, होटेलजस्ता क्षेत्रमा यसरी लगानी बढाउँदा त्यसको गलत उपयोग भएको हुनसक्ने राष्ट्र बैंकको चिन्ता छ ।