सातामा २१ उडान भर्नेगरी जुलाइका लागि अन्तर्राष्ट्रिय उडान तालिका स्वीकृत
काठमाडौं । हवाइ क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी जुलाईका लागि अन्तर्राष्ट्रिय नियमित उडानको तालिका स्वीकृत गरेको छ । सातामा २१ अन्तर्राष्ट्रिय उडान भर्ने योजना स्वीकृत भएको हो । सरकारले भारत, चीन, जापान, कोरिया, मलेसिया, टर्की, कतार, यूएई, साउदी अरेबिया, कुवेत र ओमानमा निश्चित संख्या तोकी नियमित उडान खोलेको छ ।
यसै अनुरुप प्राधिकरणले नयाँ उडान तालिका सार्वजनिक गरेको हो । अनुमति दिएका मुलुकमा नेपाल र सम्बन्धित मुलुकका वायुसेवा कम्पनीले बराबर संख्यामा उडान अनुमति पाएका छन् । कोरिया र चीनबाट भने अझै वायुसेवा कम्पनीले उडानको अनुमति मागेका छैनन् । नेपालका कम्पनी नजाने गन्तब्यमा भने सम्बन्धित मुलुकका वायुसेवा कम्पनीको मात्र उडान हुनेछ । कोरिया, टर्की, कुवेत र ओमान नेपाली जहाजले उडान भर्दैनन् ।
नयाँ तालिका अनुसार आइतबार एउटामात्रै उडान हुने छ । सोम, मंगल, बुध र बिहीबार ३-३ वटा उडान हुने छन् भने शुक्रबार र शनिबारका लागि ४-४ उडानको तालिका साजर्वजनिक गरिएको छ । यसअनुसार राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले सातामा ६ उडान भर्ने छ । अर्को नेपाली कम्पनी हिमालयन एयरलाइन्सले ४ वटा उडान भर्ने अनुमति पाएको छ ।
कतार एयरवेज, जजीरा एयरवेज र टर्कीश एयरलायन्सले सातामा २-२ उडान भर्ने अनुमति पाएका छन् । एयर अरेबिया, मालिन्दो एयर, एयर इण्डिया, फ्लाइ दुबई, र सलाम एयरले हप्तामा १-१ उडान भर्ने छन् ।














