२ कार्तिक २०८३, सोमबार

साना किसान लघुवित्तको २० औँ वार्षिकोत्सव सम्पन्न, गुणस्तरीय र प्रभावकारी सेवा दिन गभर्नर अधिकारीको आग्रह



काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २० औँ वार्षिकोत्सव सम्पन्न भएको छ । मंगलबार भर्चुअल माध्यमबाट नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव सम्पन्न भएको हो । उक्त कार्यक्रममा जुम माध्यमबाट साझेदार कृषि सहकारी संस्थाका किसान प्रतिनिधिहरू लगायत करिब ३ सय जनाको उपस्थिति रहेको थियो ।

राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले संस्थाले साना किसानहरूको जीवनस्तर माथि उठाउन केन्द्रित रहेको र संख्यात्मक विस्तारमा गुणात्मक पाटो महत्वपूर्ण राखेको बताए । वित्तीय संस्थाले आगामी दिनमा अझ गुणस्तरीय, प्रभावकारी र नतिजामुखी सेवा सञ्चालन गर्न गभर्नर अधिकारीले आग्रह गरे ।

वित्तीय संस्थामार्फत सहुलियत कर्जा प्रवाह गरी ग्रामीण क्षेत्रमा अवस्थित साना किसान तथा युवाहरूले कृषिसँग सम्बन्धित व्यवसाय तथा उद्यमहरू सञ्चालन गरेको संस्थाका अध्यक्ष खेम बहादुर पाठकले जानकारी दिए । वित्तीय संस्थालाई अझ सुलभ तथा सहुलियत कर्जा प्राप्त भयो भने धेरै साना किसानहरूलाई उद्यमी र व्यावसायिक बनाउन सकिन अध्यक्ष पाठको भनाई छ ।

यस वित्तीय संस्थाले ७४ जिल्लाका ५३१ पालिकामा ९५७ साना किसान कृषि सहकारी संस्था सहित कुल १३७४ सहकारी संस्थाहरुको प्रवर्धन र विकास गरी ८ लाख ९७ हजारभन्दा बढी विपन्न तथा साना किसान परिवारमा लघुवित्त एवम् कृषि प्रवर्धन कार्यक्रम पुर्याउन सफल भएको छ । आगामी दिनमा सेवा नपुगेका पालिका तथा जिल्लाहरुमा वित्तीय संस्थाको सेवा विस्तार गर्दै साना किसानको समृद्धिका लागि कृषिको रुपान्तरण र उद्यमशीलता विकासका गतिविधिलाई तीब्रता प्रदान गर्ने यस वित्तीय संस्थाको लक्ष्य रहेको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवराम प्रसाद कोइरालाले बताए ।