पैसा नभएको खाताको चेक दिएर फरार भएका लामा पक्राउ
काठमाडौं । प्रहरीले बैंकिङ कसूरको मुद्दाका एक फरार प्रतिबादीलाई पक्राउ गरेको छ । आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जान्दाजान्दै पनि १५ लाख रुपैयाँको चेक काटेका उनी केही महिनायता फरार थिए ।
काठमाडौंको बुढानीलकण्ठ ७ बस्ने ५९ वर्षीय लाक्पा लामा मंगलबार पक्राउ परेका हुन् । उनले झुक्याएर जनता बैंक (हाल ग्लोबल आईएमई)मा रहेको खाताको चेक काटेपछि उच्च अदालत पाटनले उनलाई ७ दिन कैद र १५ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
गत ९ माघमा फैसला आए पनि लामा फरार भएका थिए । प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले मंगलबार उनलाई काठमाडौं चक्रपथबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको प्रहरी मुख्यालयले जनाएको छ ।















