मनकामना स्मार्ट लघुवित्तको आईपीओ यी ४ तरिकाबाट हेर्नुहोस्
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले बिक्री गरेको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड गरिएको छ । आज बुधबार बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ । बाँडफाँड गरिएपछि आईपीओ रिजल्ट ४ विधिबाट हेर्न सकिन्छ । लगानीकर्ताले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थको वेबसाइट https://www.manakamanalbs.com/, सिडिएससको मेरो सेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login, सिडिएससीले आईपीओ हेर्नका लागी संचालनमा ल्याएको वेबसाइट https://iporesult.cdsc.com.np/ र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट https://www.nmbcl.com.np/shareallotment मा गएर हेर्न सक्निछ ।
कम्पनीको आईपिओमा कुल १९ लाख ५४ हजार २ सय ७४ जनाबाट २ करोड ५१ लाख ३३ हजार २ सय ९० कित्ताको लागि आवेदन परेको क्यापिटलले जनाएको छ । जस मध्ये २ हजार ७ सय ५३ जनाको आवेदन रद्द भएको र १९ लाख ५१ हजार ५ सय २१ जना मात्रै योग्य रहेको क्यापिटलले जनाएको छ ।
माग भन्दा बढीको आवेदकले आवेदन दिएकोले गोलाप्रथाबाट ३६ हजार ३ सय ४९ जनाले १० कित्ताको दरले शेयर पाएका छन् । ति मध्ये २ जनाले ११ कित्ता शेयर पाएका छन् । यस हिसाबमा आवेदन दिएका मध्ये १९ लाख १७ हजार बढी आवेदन हात खाली भएका छन् ।
कम्पनीले असार १७ गतेदेखि आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीलाई र १९ हजार ४ सय ५० कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्याईएको थियो । बाँकि रहेको ३ लाख ६३ हजार ४ सय ९२ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।













