२६ श्रावण २०८३, मंगलबार

अमेरिकाले पठाएको १५ लाख डोज ‘जोनसन एण्ड जोनसन’ कम्पनीको खोप काठमाडौं आइपुग्यो



काठमाडौं । संयुक्त राज्य अमेरिकाले पठाएको कोरोनाभाइरस विरुद्धको १५ लाख ३४ हजार ८५० मात्रा (डोज) खोप काठमाडौं आइपुगेको छ । अमेरिकाले विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रम अन्तरगत उक्त परिमाणमा खोप नेपाललाई अनुदानमा दिएको हो ।

एक जनालाई एक डोज मात्रै लगाए पुग्ने ‘जोन्सन एन्ड जोन्सन’ कम्पनीको यो खोप सोमबार बिहान काठमाडौं आइपुगेको हो । ठूलो परिमाणमा खोप बोकेको कतार एयरवेजको जहाज आज विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । उक्त खोप हाललाई विमानस्थलकै भण्डारण कक्षमा राखिने सरकारी अधिकारीहरुले जनाएका छन् ।

उक्त खोप नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले विमानस्थलमै पुगेर स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । खोप हस्तान्तरणको शिलसिलामा विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राजदूत बेरीले यो खोप अमेरिकाका तर्फबाट नेपाललाई उपहार भएको बताए ।

सोही खोप हस्तान्तरणको अर्को कार्यक्रम चाहीँ प्रधानमन्त्री निवास बालुवाटारमा हुने भएको छ । कार्यक्रममा अमेरिकी राजदूत बेरीले पुनः उक्त खोप प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि आजै हस्तान्तरण गर्ने अमेरिकी दूताबासले जनाएको छ ।

दूताबासले ७५ वर्ष लामो नेपाल–अमेरिका सम्बन्धमा यो निकै बलियो कोशेढुंगा भएको बताएको छ । कोरोना भाइसर महामारीका कारण भएको आर्थिक क्षतिबाट पुनरुत्थान गर्दै पहिलेजस्तै जनजीवनको सामान्यिकरण गर्नमा उक्त खोप सहायता महत्वपूर्ण हुने दूताबासले जनाएको छ ।

तस्वीर सौजन्यः विश्व स्वास्थ्य संगठन नेपाल ।