२६ श्रावण २०८३, मंगलबार

दिउँसो ४ बजे मन्त्री परिषद बैठक, बजेटबारे आजै छलफल हुने



काठमाडौं । हिजो प्रतिनिधि सभाबाट विश्वासको मत पाएका शेरबहादुर देउवाले आज दिउँसो ४ बजे मन्त्री परिषद बैठक बोलाएका छन् । आज बस्ने मन्त्री परिषद बैठकमा बजेटको विषयमा पनि छलफल हुने अर्थ मन्त्रालयका एक अधिकारीले बताएका छन् ।

‘अहिलेसम्म अर्को बजेट ल्याउने वा त्यसैलाई संशोधनसहित पारित गरेर जाने भन्ने कुनै तयारी भएको छैन,’ अर्थ मन्त्रालयका एक अधिकारीले भने, ‘आजको मन्त्री परिषद बैठकले यसबारे निर्णय लिनसक्छ ।’ यसअघि केपी ओली नेतृत्वको सरकारले जारी गरेर बजेटसहित अधिकांश अध्यादेशहरु हिजै प्रतिनिधी सभामा प्रस्तुत भइसकेको छ ।

अब त्यसलाई संशोधनसहित पारित गर्ने वा पुरक बजेट ल्याउने वा अध्यादेश अस्वीकृत गरेर नयाँ बजेट ल्याउनेबारे छलफल हुने स्रोतले बताएको छ । बजेटबारे टुंगो लागेपछि नेपाल राष्ट्र बैंकलाई नयाँ आर्थिक वर्षको मौद्रिक नीति ल्याउन पनि सजिलो पर्ने छ ।

अहिले राष्ट्र बैंकले आगामी शुक्रबारसम्म मौद्रिक नीति जारी गर्ने तयारी गरेको छ । बजेटबारे सरकारले लिने दिशा स्पस्ट नभएसम्म मौद्रिक नीति ल्याउन अप्ठेरो परेपछि राष्ट्र बैंक अन्योलमा रहँदै आएको छ । यही कारण राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पटक पटक अर्थमन्त्री जनार्दन शर्मालाई भेटिसकेका छन् ।