२ कार्तिक २०८३, सोमबार

उद्यमशीलता विकासमार्फत् युवा पलायन रोक्न कांग्रेसको ‘गरिखाने अभियान’ले दियो अर्थमन्त्रीलाई सुझाव



काठमाडौं । नेपाली कांग्रेस; लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण एवं दीगो परियोजना केन्द्रित विशेष समितिले देशमै उद्यमशीलता र रोजगारीका अवसर सिर्जना गरी युवा शक्ति पलायन हुनबाट रोक्न अर्थमन्त्री जनार्दन शर्मालाई सुझाव पेस गरेको छ ।

समितिका संयोजक विनोद चौधरी तथा सहसंयोजक अनिल रूंगटा लगायतका पदाधिकारीले अर्थमन्त्री शर्मासँगको भेटमा यस्तो सुझाव दिएको हो ।

चौधरीले विद्यमान जनस्वास्थ्य र आर्थिक संकटकै बीचमा प्राकृतिक प्रकोपले ठूलो क्षति पुगेको उल्लेख गर्दै आम जनताको आयआर्जनको सुनिश्चितताका लागि सरकारले ठोस कार्यक्रम ल्याउनुपर्ने बताए ।

चौधरीले हाम्रोजस्तो विकासशील देशले उत्पादन वृद्धि गरी आन्तरिक खपत र निर्यात बढाउन सकेमात्र अर्थतन्त्र चलायमान र सबल हुने बताए । रोजगारीका अवसरसँगै आम जनताको आय आर्जनमा सुधार हुने खालका नीति लिन उनले अर्थमन्त्रीलाई सुझाव दिए ।

मुलुकभित्र उद्यमशीलता विकासका लागि ‘गरिखाने अभियान’ सञ्चालन गरिरहेको समितिले बैंक तथा वित्तीय संस्थाका ६ हजार शाखामार्फत् प्रत्येकबाट कम्तीमा १० ओटा सहुलियत कर्जा प्रदान गर्ने व्यवस्था प्रभावकारी रूपमा लागू गर्न आग्रह गरेको छ ।

यसबाट ६० हजार नेपाली युवालाई उद्यमी बनाउन सकिने र ती उद्यममा कम्तिमा ३ जनामात्रै कर्मचारी राख्न सके पनि वार्षिक झण्डै २ लाख रोजगारी सिर्जना हुने छ । यसले श्रम बजारमा आउने ४ लाख मध्ये आधा श्रम शक्तिलाई यहीं रोजगारी सिर्जना गर्न सकिने समितिका सहसंयोजक अनिल रूंगटाले बताए ।

यसबाट बाध्यात्मक वैदेशिक रोजगारीको अवस्था अन्त्य गर्न सजिलो पर्ने रुंगटाले बताए । भेटमा अर्थमन्त्री शर्माले मुलुकको अर्थतन्त्रको विस्तार, स्थायित्व, समावेशीकरण र दीगो विकासको आधार तयार गर्न आफू क्रियाशील रहने बताएका छन् ।

गरिखाने अभियान नेपाली कांग्रेसद्वारा गठित ‘लगानी, पूर्वाधार र रोजगार ः दृष्टिकोण एवं दीगो परियोजना केन्द्रित विशेष समिति’ ले सञ्चालन गरिरहेको उद्यमशीलता अभियान हो । यो अभियानले आउँदो दुई महिनाभित्रै देशभरमा करिब ५०० परियोजनाका लागि लगानी जुटाउने छ ।