कोरियाली राजदूतले अर्थमन्त्रीलाई भेटेर भने, ‘माथिल्लो त्रिशूली १ मा किन ढिलाइ भयो’
काठमाडौं । नेपालका लागि दक्षिण कोरियाका राजदुत पार्क चोङ सुकले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको काममा भइरहेको ढिलाईबारे चासो राखेका छन् । कोरियाली लगानी रहेको उक्त आयोजनामा ढिलाई हुँदा लागत बढ्न जानेतर्फ चिन्ता रहेको राजदूत पार्कले बताए ।
राजदूतको उक्त चासोबारे मन्त्रालयले स्पस्ट प्रतिक्रिया दिएको छैन । राजदुत पार्क र अर्थमन्त्री शर्माबीच बुधबार अर्थमन्त्रालयमै शिष्टाचार भेट भएको हो । भेटमा अर्थमन्त्री शर्माले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवालाई काम गर्ने वातावरण बनाइदिन राजदूत समक्ष आग्रह गरेको अर्थ मन्त्रालयद्वारा जारी बक्तव्इमा उल्लेख छ ।
कोभिड महामारीका कारण रोकिएको प्रक्रिया चाँडै अघि बढाउन सरकारको तर्फबाट हुनुपर्ने काम तत्काल अघि बढाउने शर्माले बताए । उनले कोरियाको तर्फबाट आवश्यक प्रक्रिया अघि बढाइदिन आग्रह गरे ।
जवाफमा राजदुत पार्कले रोकिएको इपिएसको काम अघि बढाउन आफूले पहल गर्ने बचन दिएका छन् । नेपालीहरुको मेहेनती र इमान्दारिताबाट कोरियाली रोजगारदाताहरु खुशी रहेको पार्कले बताए । अर्थमन्त्री शर्माले कोभिड–१९ विरुद्धको खोप पहिलो प्राथमिकता भएको भन्दै त्यसको लागि कोरियाली जनताको तर्फबाट आवश्यक सहयोग रहने विश्वास व्यक्त गरे ।
कोरियाको लगानीमा भक्तपुरको ठिमी, नुवाकोट, धनगढी र मुगुमा सुविधासम्पन्न अस्पताल निर्माण भएको छ भने महोत्तरीको बर्दिवासमा मोडेल पोलिटेक्निक कलेजको स्थापना हुँदै छ ।












