खोप तालिका संशोधन गर्नुपर्नेमा अर्थमन्त्रीको जोड : बजेटको कमी हुन नदिने प्रतिवद्धता
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोरोना खोप तालिका संशोधन गरी आगामी असोजभित्र खोप लगाइसक्ने गरी प्रक्रिया अघि बढाउन आग्रह गरेका छन ।
बुधवार स्वास्थ्यराज्यन्त्री उमेश श्रेष्ठसँग अर्थमन्त्रालमा छलफल गर्ने क्रममा उहाँले फागुनसम्म खोप आपूर्ति गर्ने तालिका संशोधन गरेर तत्काल खोप खरिद गर्न आग्रह गरेका हुन । खोप खरिदको लागि पैंसाको कुनै कमी हुन नदिने भन्दै मन्त्री शर्माले जुन जुन देशबाट खोप लिन सकिन्छ अहोरात्र वार्ता गरी खोप भित्र्याउन आग्रह गरेका हुन ।
असोजभित्र खोप दिन सकिएन भने मुलुकको अर्थतन्त्र समेत धरापमा पर्नसक्ने भन्दै उहाँले खोप खरिदको लागि बजेटको कमी हुन नदिने बताए । देशको अर्थतन्त्र जनताको प्राणसँग जोडिएकोले विकास निर्माणको लागि विनियोजन गरिएको बजेट समेत रकमान्तर गरेरै भएपनि खोप खरिदमा लगाइने प्रतिवद्धता व्यक्त गरे । मन्त्री शर्माले प्राप्त भएका खोप समेत लक्षित समुदायलाई दिने कार्यमा ढिलाई भएकोमा असन्तुष्टि व्यक्त गरेका छन ।
छलफलमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले खोप खरिदका लागि व्यवस्था मिलाइएको र आवश्यक परे आपूर्ति तालिका संशोधन गरेर तीव्रता दिइने प्रतिक्रिया दिएका छन । उनले संभव भएसम्म चाडो खोप खरिद गर्ने काममा कुनै विलम्ब नहुने बताएका छन । प्राप्त भएका खोप लगाउनको लागि कार्ययोजना बनाइएको र अब योजनावद्ध रुपले खोप कार्यक्रमले गति लिने विश्वास राज्यमन्त्री श्रेष्ठले बताएका छन ।















