उद्योग विभागले नयाँ सफ्टवयर बनाउने काम थाल्यो, लगानीकर्तालाई खुसीको खबर - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

उद्योग विभागले नयाँ सफ्टवयर बनाउने काम थाल्यो, लगानीकर्तालाई खुसीको खबर



काठमाडौं । उद्योग विभागले नयाँ सफ्टवेयर निर्माणको प्रक्रिया अघि बढाइसकेको छ । यससँगै नेपालमा नयाँ उद्योग खोल्न चाहनेमात्र होइन, भएका उद्योगका लगानीकर्ताले पनि लाभ पाउने छन् । सफ्टवयर बनिसकेपछि उद्योग विभागमा नपुगि सबै सेवा लिन सकिने भएको छ ।

यसका लागि आगामी आर्थिक बर्षदेखि विभागबाट प्राप्त हुने सेवा अनलाइनबाटै लिन पाईने सुविधा दिन लागिएको विभागले जनाएको छ । अहिले उद्योग दर्ता, उद्योगको नवीकरण, विदेशी लगानी स्वीकृत लगायतका काम गर्न लगानीकर्ता विभागमा भौतिक रुपमै उपस्थित हुनुपर्छ ।

इन्फोडेभलपर नामक स्वदेशी सफ्टवयर निर्माता कम्पनीले अहिले विभागको नयाँ सफ्टवेयर निर्माण गरिरहेको छ । १ करोड ६० लाख रुपैयाँ खर्च गरेर निर्माण गर्न लागिएको सफ्टवेयरमार्फत सेवाग्राहीले विभागमा हाजिर नभइ घरबाटै सबै सेवाहरु प्राप्त गर्न सक्ने छन् ।

सफ्टवेयर निर्माणका लागि कम्पनीले १ बर्षको म्याद मागेको छ । उक्त मितिसम्म कम्पनीले सफ्टवेयर निर्माण गरी यसको बेटा भर्सन परीक्षण गर्ने जनाएको छ । दुई महिनाअघि सफ्टवयर बनाउने काम सुरु भएको र एक वर्षभित्र सकिसक्ने योजना रहेको विभागले जनाएको छ ।

हालैमात्र विभागले नयाँ वेबसाईट पनि सञ्चालनमा ल्याएको छ । सबै प्रकारका जानकारी र सूचना तथा तथ्यांकहरु वेबसाईटबाटै प्राप्त हुन थालेपछि विभागमा सेवाग्राहीको चाप घट्न थालेको विभागका अधिकारीहरुले बताएका छन् ।

नयाँ सफ्टवयर बनिसकेपछि उद्योगको प्रमाणपत्र लिने, उद्योग दर्ताका लागि आवेदन दिने, उद्योग नवीकरण, प्रमाणीकरण लगायतका सम्पुर्ण काम अनलाईनबाटै गर्न सकिने बताइएको छ । हाल उद्योग विभागमा झण्झटिलो प्रक्रिया भएको भन्दै स्वदेशी तथा विदेशी लगानीका उद्योगले गुनासो गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्