२ कार्तिक २०८३, सोमबार

एमालेमा रहेका पूर्व माओवादीको जिम्मेवारी खोसियो, अब के हुन्छ ?



काठमाडौं । नेकपा एमाले २०७५ जेठ २ मा फर्कदा पूर्व माओवादी केन्द्रबाट एमालेमा आएका नेताहरुको जिम्मेवारी हेरफेर भएको छ । मंगलबार १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति भएपछि उनीहरुको जिम्मेवारी खोसिएको हो । मंगलबार कसेको स्थायी कमिटि बैठकले पार्टीलाई ०७५ जेठ २ अघिकै संरचना लैजानो निर्णय गरेपछि उनीहरू स्थायी कमिटी सदस्य मात्रै रहेका छन् ।

उनीहरुलाई यस अघि दिईएको केन्द्रिय सदस्य पद भने खोसिएको हो । १० बुँदे सहमति कार्यान्वयनका अन्य मापदण्ड बनाइने भनिए पनि तत्काललाई उनीहरूको केन्द्रीय सदस्य खोसिएको हो ।

जिल्ला र प्रदेश कमिटीहरू पनि २०७५ जेठ २ कै अवस्थामा फर्किएका छन् । प्रदेश १ को इन्चार्ज भीम आचार्य, प्रदेश २ को इन्चार्ज सत्यनारायण मण्डल, वाग्मती प्रदेशको इन्चार्ज अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङ, लुम्बिनी प्रदेश इन्चार्ज विष्णु पौडेल, कर्णाली प्रदेश इन्चार्ज युवराज ज्ञवाली र सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावल नै कायम रहेका छन् ।

यस अघि नेकपा विभाजन भएपछि प्रदेश १ मा सुवास नेम्बाङ, २ मा रघुवीर महासेठ, वाग्मतीमा रामबहादुर थापा, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई इन्चार्जको जिम्मेवारी दिइएको थियो । तर उनीहरुको जिम्मेवारी व्यवस्थापनका सन्दर्भमा उच्चस्तरीय कार्यदलले खाका तयार गर्ने भएको छ ।