तेह्रथुम पावरको आइपीओमा ४१.७९ गुणा धेरै आवेदन, २३ लाख ३१ हजारभन्दा बढीको हात रित्तो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

तेह्रथुम पावरको आइपीओमा ४१.७९ गुणा धेरै आवेदन, २३ लाख ३१ हजारभन्दा बढीको हात रित्तो



काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओमा अन्तिम दिनसम्म २४ लाख भन्दा बढीको आवेदन परेको छ । बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलका अनुसार आइतबार साँझ ५ बजेसम्म २३ लाख ८८ हजार ३३२ जना आवेदकले ३ करोड १० लाख ९२ हजार ३० कित्ताका लागि आवेदन दिएका छन् । यो माग गरिएकोभन्दा ४१.७९ गुणा बढि आवेदन परेको हो । यो संख्या थपघट हुनसक्छ ।

तेह्रथुम पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । कम्पनीले बुधबारदेखि १ सय रुपैयाँ अंकित दरमा ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर निष्काशन गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई र बाँकी ७ लाख ४४ हजार कित्ता शेयरको लागि मात्रै सर्वसाधरणका लागि छुट्याएको थियो ।

हाल कम्पनीको चुक्ता पूँजी २८ करोड रुपैयाँ रहेको छ । स्थानियलाई ४ करोड रुपैयाँ र सर्वसाधारणलाई ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता ४० करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोला प्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँड गरिने छ । जसमा ७४ हजार ४ सय जनाले मात्रै आईपीओ पाउनेछन् । आवेदन दिएका कूल आवेदकमध्ये २३ लाख ३१ हजारभन्दा बढीको हात रित्तो हुनेछ ।


प्रतिक्रिया दिनुहोस्