जगदम्बा स्टीलमा भएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीलाई कारवाही गर्न माग - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

जगदम्बा स्टीलमा भएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीलाई कारवाही गर्न माग



काठमाडौं । वीरगंज पथलैया औद्योगिक कोरिडर, सिमरामा रहेको जगदम्बा स्टील प्रा.लि.मा भदौं ११ गते विहान तोडफोड गर्ने गरी भएको ध्वंसात्मक कार्यप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघ उक्त कार्यको घोर निन्दा एवं भत्सर्ना गर्दछ ।

स्थानीय तहमा संचालित उद्योग व्यवसायले स्थानीय जनतालाई रोजगारीका साथै त्यस क्षेत्रका जनताको आर्थिक जीवनस्तर सुुधारमा समेत निकै ठूलो सहयोग पुरयाईरहेको यथार्थता जगजाहेर छ । तर उद्योग समस्यामा परेको मौका छोपी स्थानीय जनता नै जवरजस्ती उद्योग परिसरमा प्रवेश गरी उद्योगका महत्वपूर्ण सरसामान, मेसिनहरू, पार्किङ गरी राखिएका सवारीसाधनहरू तोडफोड गरी ध्वस्त बनाउनुु अत्यन्त दुःखद कुरा हो ।

भदौ ११ गते विहान १०ः१५ बजे उद्योगको अमोनिया ग्यांस टयांकबाट ग्यास लिक भई भएको घटना लगत्तै उद्योग परिसरभित्र स्थानीयहरू वलजफती प्रवेश गरी उद्योगमा तोडफोड भएको उद्योगले जनाएको छ । वार्ताबाट समस्या समाधान गर्न सकिने अवस्था हुदाहुदै तोडफोड हुनु दुर्भाग्यपूर्ण हो ।

यसले एकातिर उद्योग र स्थानीय जनता बीचको आपसी विश्वासमा कुठाराघात गर्छ भने अर्कोतिर उद्योगी व्यवसायीको मनोवल खस्कने, लगानी निरूत्साहित हुने र स्वदेशी एवं विदेशी लगानीकर्तामाझ नकारात्मक संदेश जानेतर्फ महासंघको गम्भीर चिन्ता छ ।

अतः यस्ता कार्यमा संलग्नहरूको तत्काल पहिचान गरी दोषीलाई कानूनका दायरामा ल्याई कारवाही गर्न र उद्योग पूर्वावस्थामै संचालन गरी औद्योगिक वातावरण निर्माणमा सहयोग हुन महासंघ संघीय सरकार सहित तीनै तहका सरकार समक्ष गम्भीर आग्रह गर्दछ ।


प्रतिक्रिया दिनुहोस्