सामलिङ्ग पावरको आईपीओ भोलिदेखि बिक्री खुला गरिने, क-कसले आवेदन दिन पाउँछन् ?
काठमाडौं । सामलिङ्ग पावरको आईपीओमा भोलिदेखि बिक्री आवेदन दिन सकिनेछ । सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओ भोलि (भदौ १८ गते, शुक्रबार) देखि निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । इलाममा कोरोना भाइरसको सम्भावित संक्रमणलाई रोक्न लागु गरिएको निषेधाज्ञाका कारण स्थगित भएको आईपीओ भोलिदेखि निष्काशन तथा खुला गर्ने भएको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि प्रतिशेयर १०० अंकितमूल्यका ५ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको हो । जसमध्ये ६० प्रतिशत अर्थात ३ लाख कित्ता आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाभरीका बासिन्दाहरुका लागि र बाँकी ४० प्रतिशत अर्थात २ लाख कित्ता आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं. ४ र ५ का बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो ।
लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
कम्पनीको आईपीओ छिटोमा असोज १ गते र ढिलोमा असोज १७ गते बन्द हुनेछ । आईपीओमा नेपाल एसबिआई बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, सिभिल बैंक र लक्ष्मी बैंकका ईलाम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।













