कोभिड-१९ मा सूचना प्रविधि र संचारकर्मी भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । कम्प्युटर एशोसिएन नेपाल महांसंघले “कोभिड १९ मा सूचना प्रविधि र संचारकर्मीको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । क्यान महासंघको वुमेन इन आइसिटी र आइसिटी यूथ इम्पावरमेन्ट समितिद्वारा आयोजित उक्त कार्यक्रम काठमाण्डौको मैतीदेवीस्थित सनवे ईन्टरनेशनल बिजनेस स्कूलमा सम्पन्न भएको हो । पत्रकार महिलाहरुको लागि आयोजित कार्यक्रममा वरिष्ठ महिला संचारकर्मी एवं मिडिया एड्भोकेसी ग्रुपकी कार्यकारी निर्देशक बबिता बस्नेत र साउथ एसिया वुमेन इन मिडियाकी अध्यक्ष तथा सञ्चारिका समूहकी पूर्व अध्यक्ष निर्मला शर्मा प्रमुख श्रोत व्यक्तिको रुपमा रहनुभएको थियो ।
कार्यक्रममा क्यान महासंघका अध्यक्ष नवराज कुँवरले हरेक संकट र महामारीको सामनापछि मानिसले आफ्नो कार्यशैलीमा परिमार्जन गर्ने गरेको दृष्टान्त रहेको बताउनुभयो । कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिएपछि नेपाली पत्रकारको समाचार संप्रेषण गर्ने शैलीमा उल्लेखनीय परिवर्तन आएको तथा पत्रकारहरुले कोभिड १९ को समयमा घरवाटै समाचार संप्रेषण गर्नु पर्नाका कारण केहि नवप्रवर्तनका उदाहरणहरु पनि देखिएको बताउनु भयो । कुंवरले अधिकांश नेपाली सञ्चार माध्यमले डिजिटल प्रविधिको बृहतर प्रयोग गर्न थालेको, सोहि क्रममा सामाजिक सञ्जालको भरपुर प्रयोग भएको, संचार माध्यमहरुमा प्राविधिक रुपान्तर हुँदा नेपालमा अनलाइन मिडिया नवप्रवर्तन क्षेत्रको रुपमा विकास भएको साथै लकडाउनको अवधिमा नेपाली पत्रकारले ‘मोबाइल जर्नालिज्म’ अझ सिकेको र मोबाइलबाट समाचारलाई चाहिने सामग्री कसरी संकलन गर्ने भन्नेकुरामा वढि ध्यान दिइएको बताउनुभयो । जसका कारण कोभिड १९ महामारीले नेपाली मिडियामा नवप्रवर्तन अथवा इन्नेभेसन नै ल्याईदिएको उंहाको भनाई थियो । विश्वमा जस्तै नेपालमा पनि कोभिड १९ पछि समाचार कन्टेन्ट र शैलीका साथै संचार माध्यममा मल्टीमिडिया र प्रविधिको प्रयोग र अडियन्स इन्गेजमेन्ट एवं पाठक केन्द्रित प्रकाशनलाई बढि महत्व दिइएको उहांले बताउनुभयो ।
आजको समाज सुचना तथा संचार प्रविधि एवं यससंगै जोडिएको विभिन्न स्वरुपको संचार माध्यमबाट अछुतो रहन नसक्ने बताउंदै क्यान महासंघका महासचिव नारायण थापाले कार्यक्रमको शुरुवात गर्ने क्रममा नेपालमा सुचना तथा संचार प्रविधिको विस्तार र विकाशमा क्यान महासंघले खेलेको भुमिका स्मरण गर्दै संचार्कर्मीहरुसंगको साझेदारी तथा नियमित अन्तरक्रिया कार्यक्रमहरुले देशमा सुचना तथा संचार प्रविधिको सदुपयोगमा मद्दत पुग्ने कुरा बताउनु भएको थियो ।
वरिष्ठ संचारकर्मी तथा मिडिया एड्भोकेसी ग्रुपकी कार्यकारी निर्देशक बबिता बस्नेतले महिला पत्रकारहरुमा कोभिड १९ ले ल्याएको असर, चुनौती र भूमिकाका बारेमा बताउँदै प्रविधिमा महिलाहरुको सहभागिता कम रहेकोमा कोभिड १९ का कारण सूचना प्रविधिको प्रयोग र विस्तारमा भएको बृद्धिसंगै महिलाहरुले पनि यसबाट लाभान्वित हुने अवसर पाएको बताउनुभयो । सोहि अवसरमा बस्नेतले मिडिया एड्भोकेसी ग्रुपले हालै प्रकाशित गरेको “महिला पत्रकारमा कोभिड १९ को असर” पुस्तक प्रकासनको क्रममा यस सम्बन्धि गरेको खोज र प्राप्त तथ्यांङ्कहरु स्मरण गर्नुभयो ।
सञ्चारिका समूहकी पूर्व अध्यक्ष निर्मला शर्माले सूचना प्रविधिको विकास सँगै चुनौतीहरु पनि थपिएको उल्लेख गर्नु भयो । उंहाले सूचनाको श्रोतको स्तर र सही सूचना पाउने नागरिकको हकमा महामारीको समयमा बृद्धि भए पनि प्रविधिले विश्वसनीयता बढाउन भने नसकेको बताउनुभयो । सूचना प्रविधिको सही सदुपयोगले सूचना सम्प्रेषण गर्न सजिलो र सही सूचना प्रेषित हुनेमा भने दुईमत नरहेको उहाँको कथन थियो ।
अन्तरक्रिया कार्यक्रको प्रायोजक संस्था सनवे ईन्टरनेशनल बिजनेस स्कूलका संयोजक मनिष महर्जनले इन्टरनेट अफ थिङ्गस को विषयमा प्रकाश पार्नु भएको थियो । अन्तरक्रिया कार्यक्रममा विभिन्न सञ्चार माध्यमबाट उपस्थित सञ्चारकर्मीहरुले श्रोत ब्यक्तिहरुसंग कोभिड १९, सुचना प्रविधिको सहि प्रयोग तथा यसका निम्ति संचारकर्मीको भूमिकाका सम्बन्धमा अन्तर्क्रिया गरेका थिए ।
क्यान महासंघ वुमेन इन आइसिटी समितिकी सदस्य तथा नेपाल पत्रकार महासंघ काठमाण्डौ शाखा कार्यसमिति सदस्य रीना श्रेष्ठको संयोजनमा रहेको उक्त कार्यक्रममा, क्यान महासंघ आइसिटी यूथ इम्पावरमेन्ट समितिकि सभापति शर्मिला भुजेल, वुमेन इन आइसिटी समितिकी सल्लाहकार रोजा किरण वासुकलाको समेत उपस्थिती रहेको थियो । आइसिटी यूथ इम्पावरमेन्ट समितिका सदस्य सुरेन्द्र श्रेष्ठको संचालनमा रहेको कार्यक्रम वुमेन इन आइसिटी समितिकी सभापति शीला कंसाकार कार्कीको धन्यवाद मन्तव्य सहित समापन भएको थियो ।












