सेयर बजारमा १०८ अंकको पहिरो, ११.२४ अर्बको कारोबार - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

सेयर बजारमा १०८ अंकको पहिरो, ११.२४ अर्बको कारोबार



काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक भारि अंकले गिरावट आएको छ । दिनभरि ऋणात्मक रहेको नेप्से बन्द हुने समयमा १ सय अंक भन्दा बढिले घटेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितोमा कडाई गरेपछि यसको प्रभाव नेप्सेमा परेको हो । ठूला लगानीकर्तालाई १२ करोड रुपैयाँ सेयर धितो अपूग भएको भन्दै राष्ट्र बैंकले उक्त निर्णय पिर्ता लिनुपर्ने माग गर्दै राष्ट्र बैंक घेराउ गर्ने चेतावनी दिएका छन् । उक्त निर्णयलाई केही लगानीकर्ताले स्वागत गरेका छन् भने ठूला लगानीकर्ताहरु आक्रोशित बनेका छन् ।

सेयर धितोमा गरेको कडाई पछि नेप्से निरन्तर ओरालो लाग्दै आएको छ । आइतबार नेप्से परिसूचक १०८.२६ अकले घटेर २८१८.७२ अंकमा बन्द भएको छ । यसअघि १२ बजेर ५९ मिनेट जाँदा सेयर बजार ५.०३ प्रतिशतले घटेपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । उक्त समयमा नेप्से परिसूचक १४७.३७ अंकले घटेर २७७९.६८ अंकमा पुगेको थियो ।

आइतबार दिनभरिमा २२३ कम्पनीको २ करोड ३० लाख ७९ हजार कित्ता सेयर १लाख २९ हजार पटक किनबेच हुँदा ११ अर्ब २४ करोड ३ लाख ९१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार कुनै पनि समूहमा हरियो देखिएको छैन् ।


प्रतिक्रिया दिनुहोस्