चार वर्षमा साढे ११ खर्ब विदेशी लगानी भित्र्याउने यस्तो छ सरकारी योजना
काठमाडौं । मुलुकमा ठूला पुर्वाधार परियोजना निर्माण गर्न विदेशी लगानी आकर्षित गर्ने भन्दै स्थापना भएको लगानी बोर्ड नेपालले स्थापनाको १० वर्षपछि पनि खासै लगानी भित्र्याउन सकेको छैन । बोर्डले हालैमात्र पुनः ४ वर्षे रणनीतिक कार्ययोजना सार्वजनिक गरेको छ ।
संस्थाले १० बर्ष पुरा गरेको अवसरमा जारी नयाँ रणनीतिक कार्ययोजनामा सन् २०२२ देखि २०२६ सम्ममा १० अर्ब अमेरिकी डलर (करीब साढे ११ खर्ब रुपैयाँ) विदेशी लगानी भित्र्याउने उल्लेख छ । बोर्डले उक्त विदेशी लगानीले नेपालभित्र करीब १ लाखको संख्यामा नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ ।
रणनीतिक योजनाको मार्गदर्शनमा सार्वजनिक निजी साझेदारी कार्यक्रमहरुमार्फत् ६ अर्ब अमेरिकी डलर लगानी भित्र्याउने योजना छ । बोर्डका अनुसार यस अवधिसम्म बोर्डलाई पीपीपी मोडलका परियोजनाहरुको व्यवस्थापन केन्द्रका रुपमा अघि सारिने छ ।













