आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरी जयन्ती आज
काठमाडौँ । आयु, आरोग्य र आयुर्वेदका एक प्रतीक, भगवान धन्वन्तरीको आज जयन्ती हो । आयुर्वेद चिकित्सा पद्धतिको प्रवर्तकका रूपमा धन्वन्तरीलाई लिइन्छ । भगवान् विष्णुको अंशकै रूपमा लिइने धन्वन्तरीलाई प्रत्येक वर्ष कात्तिक महिनाको कृष्ण पक्षको त्रयोदशीका दिन ‘धन्वन्तरी जयन्ती’ का रुपमा विशेष रूपले स्मरण गर्ने गरिएको छ ।
यो साल कार्तिक २० गते शुक्रवार विहान ११ बजेर १० मिनेट उप्रान्त त्रयोदशी तिथि प्रारम्भ हुने भएपनि शनिवारको सूर्योदयमा मात्रै उक्त तिथि पर्ने भएकाले शनिवार नै धनन्तरी जयन्ती मनाइने भएको हो। अाज विहान १०:५६ देखि रातीकाे १०:४७ बजेसम्म भद्रा परेको छ। भद्रा सुरु हुनु अगाडि नै त्रयोदशी तिथि समाप्त हुने भएकाले भगवान धन्वन्तरीको पूजा विहान पौने ११ बजेभित्र सकिसक्नुपर्ने शास्त्रीय मत छ ।
पुराणहरूमा उल्लेख भए बमोजिम देव र असुरहरू मिलेर समुद्र मन्थन गर्ने क्रममा विभिन्न बस्तुको प्रादुर्भाव हुने बेलामा अमृतको कलश लिएका भगवान् विष्णुको अंशका रूपमा आजको दिन धन्वन्तरिको प्रादुर्भाव भएको थियो। यसै मान्यता अनुसार आजको दिन धन्वन्तरि जयन्ती मनाउने गरिन्छ भने धन्वन्तरि लाई अयुर्बेदको प्रवर्तक को रूपमा पनि उल्लेख गरिएको छ।
उनले नै शल्यक्रिया जस्तो जटिल र महत्त्वपूर्ण आविष्कार गरेको मानिन्छ। त्यसै कारण आयुर्वेदका विद्यार्थीहरूले यो दिन “आरोग्य दिवस” को रूपमा मनाउँछन्।
विसं १९७४ मा काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भए पश्चात् नेपालमा विधिवत् रूपमा धन्वन्तरि जयन्ती मनाउन थालिएको हो। आयुर्वेद क्षेत्रमा लागेका व्यक्तिहरूको पहलमा वि.सं. २०५६ देखि धन्वन्तरि जयन्ती लाई आरोग्य दिवसका रूपमा समेत मनाउन थालिएको छ।
धन्वन्तरिले आयुर्वेद शास्त्रमा हज्जारौं ग्रन्थ लेखेको भनिए पनि अहिले केवल एक ग्रन्थमात्रै हाम्रो सामु छ । यसलाई ‘धन्वन्तरि संहिता’ भनिन्छ । यही ग्रन्थ आयुर्वेदको मूल ग्रन्थ हो ।
त्यही समुद्र मन्थनबाट महामाया भगवतीको महालक्ष्मी स्वरुप प्रकट भएको थियो । त्यसैले लक्ष्मी माता र भगवान धन्वन्तरीलाई दिदीभाइ मान्नेहरु पनि छन् । वैष्णवीहरुले उनलाई विष्णुकै अंश मान्छन् ।
प्राचीन कालमा इन्द्र (यहाँ इन्द्रको अर्थ स्वर्गका राजा होइन, परमात्मा अर्थात् सर्वोच्च शक्ति अर्थात् शिव भन्ने जनाउँछ)ले केही प्रमुख पात्रहरुलाई आयुर्वेद दीक्षा दिएको मानिन्छ । त्यसमध्ये धन्वन्तरीले शल्यचिकित्सा, भारद्वाजले सामान्य चिकित्सा र कश्यपले बालरोग चिकित्सामा विशेष योगदान पुर्याएको पाइन्छ ।
सुस्वास्थ्य, रक्षा र आरोग्यका लागि यस दिन भगवान धन्वतरीको उपासना गर्ने गरिन्छ । धन्वन्तरि जयन्तीको अवसरमा आज काठमाडौँ स्थित सिंहदरबार वैद्यखाना, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, लगायत नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाड., यसै गरी जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वर आदि तथा निजी क्षेत्रबाट खुलेका आयुर्वेद अस्पताल हरूमा समेत विविध कार्यक्रम गर्ने र धन्वन्तरि जयन्ती मनाउने गरिन्छ ।
‘स्वास्थ्य नै धन हो’ भन्ने विश्वप्रसिद्ध नाराले पनि तिहारमा धन्वन्तरीको पूजा गर्ने संस्कृतिको महत्व दर्शाउँछ । चिकित्साका प्रणेता भगवान धन्वन्तरीको पूजा आरधना गर्नुलाई विशेष महत्वका साथ हेरिन्छ ।
धन्वन्तरि जयन्तीमा विभिन्न मन्त्र तथा स्तोत्रहरुले भगवानको आरधना गरिन्छ । आरोग्य प्राप्तिको लागि धन्वन्तरी देवको पौराणिक मन्त्र यस प्रकार छ :
ॐ नमो भगवते महासुदर्शनाय वासुदेवाय धन्वंन्तराये: ।
अमृतकलश हस्ताय सर्वभय विनाशाय सर्वरोग निवारणाय ।।
त्रिलोक पथाय त्रिलोकनाथाय श्री महाविष्णु स्वरुप ।
श्री धनवंन्तरि स्वरुप श्री श्री श्री ओषधचक्र नारायणाय नम:।।
भगवान धन्वन्तरिलाई खुसी पार्न ‘ॐ धन्वंतराये नम:’ सरल मन्त्र पनि जप गर्न सकिन्छ । अखण्ड लक्ष्मीको वरदान दिनेवाला, स्थायी समृद्धि र आरोग्यको आशीर्वाद दिनेवाल भगवान धन्वन्तरीलाई प्रसन्न पार्न यो स्तोत्रको पनि पाठ गर्न सकिन्छ :
ॐ शङ्खं चक्रं जलौकादधदतम् अमृतघटम् चरूदौर्भिश्चतुर्भि: ।
सुक्ष्म स्वच्छ अतिहृद्यम् शुक परिविलसन मौलिसम्भोज नेत्रम् ।।
कलांभोदोज्वलांगं कटितटविलस: चारूपीताम्बराढ्यम् ।
वन्दे धन्वन्त्वरिं तं निखिल गदम् इवपौढदावाग्रिलीलम् ।।
यो विश्वं विदधाति पातसततं संहारयत्यंजसा ।
सृष्ट्वा दिव्यमहोषधींश्च–विविधान् दूरिकरोत्यामयान् ।।
विंभ्राणों जलिना चकास्तिभुवने पीयूषपूर्ण घटम् ।
तं धन्वंतरीरूपम् इशम्–अलम् वन्दामहे श्रेयसे ।।
आजै कागतिहार पनि परेको छ ।















