सङ्घीय संसद् अधिवेशन आजदेखि सुरु हुँदै, एमसीसी लगायत १ दर्जन सन्धि-सम्झौता र ५० बढी विधेयक विचाराधीन
काठमाडौं । सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आज (भदौ २३ गते, बुधबार) शुरु हुँदै छ । अधिवेशनको पहिलो बैठक अपराह्न ४ बजे बस्ने भएको छ । मन्त्रिपरिषद्को भदौ १९ गतेको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आह्वान गरेकी हुन् ।
बुधबारको पहिलो बैठकमा बजेटसहितका १३ अध्यादेश स्वीकृतिका लागि पेस गरिने प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जानकारी दिए । अध्यादेश स्वीकृतको प्रस्तावलाई संसद् सचिवालयले सम्भावित कार्यसूचीमा समेत प्रकाशन गरिसकेको छ । यसअघि अधिवेशन नभएको समयमा ल्याइएको दल विभाजनसम्बन्धी अध्यादेशसमेत गृहमन्त्रीले पेस गर्नेछन् ।
पहिलो बैठकमा यसअघि पेस भएका तर स्वीकृतको प्रक्रिया अघि नबढाइएका शपथसम्बन्धी अध्यादेश, रेल्वे अध्यादेश, औषधिसम्बन्धी अध्यादेश, सामाजिक सुरक्षा अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थलाई नियमन गर्नेसम्बन्धी अध्यादेश, नागरिकता अध्यादेश, यौन हिंसाविरुद्धका केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश, विनियोजन अध्यादेशलगायतको प्रक्रिया अघि बढाइने छ । तर नागरिकता अध्यादेश भने कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरिसकेको छ ।
सङ्घीय संसद्का दुवै सदनमा विभिन्न चरणमा ५० भन्दा बढी विधेयक विचाराधीन रहेका छन् । यस्तै आर्थिक सहायतासम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेसनसँगको सम्झौतालगायतका एक दर्जन सन्धि तथा सम्झौता पनि विचाराधीन छन् ।
त्यस्तै, बैठकमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाइने, सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षताका लागि सदस्यको मनोनयन गर्ने, तत्कालिन संविधान सभा सदस्य जुठबहादुर खड्गी (जेबी टुहुरे) को निधनमा शोक प्रस्ताव पारित गरिने छ ।















